कोरोना रोकथाम कोषमा करोडौं सहयोग गर्दै बलिउड कलाकार 



मुम्बई, चैत-१७।विश्वमा महामारीका  रूपमा फैलिएको  कोरोना भाइरस रोकथाम कोष प्रधानमन्त्री केन्द्रीय राहत कोषमा बलिउड कलाकारले करोडौं सहयोग गर्ने भएका छन्।भाइरसले अहिले सिंगो विश्व आतंकित बनाइरहेको बेला भारतमा पनि अहिले दिनहुँजसो कोरोना भाइरसबाट संक्रमित हुने क्रम बढेसगै कलाकारले पनि सहयोग गर्न थालेका हुन।

बलिउड अभिनेता अक्षयकुमारले उक्त राहत कोषमा २५ करोड भारतीय  रुपैयाँ सहयोग गरेका छन। बाहुबली स्टार प्रभासले  तीन करोड,अभिनेता महेश बाबुले एक करोड, अभिनेता पवन कल्याणले  एक करोड, रियालिटी सोका प्रस्तोता कपिल शर्माले ५० लाख सहयोग गरेका छन।मेगास्टार चिरञ्जीवीले दैनिक ज्यालादारी मजदुर तथा तल्लो तेलगु फिल्म उद्योगमा कम आय भएका समूहका लागि भनेर एक करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।

त्यस्तै, साउथ सुपर स्टार रजनीकान्तले दैनिक ज्यालादारी मजदुरका लागि भनेर ५० लाख रुपैयाँ सहयोग गरेका छन्।ऋतिक रोशनले एन ९५ र एफएफपी तीन मास्क खरिद गरेका छन्। एकता कपुर, कियारा आडवाणी, भूमि पेडनेकर, सिद्धार्थ मल्होत्रा, करण जौहर, नितेश तिवारी, आनन्द एल राई, आयुष्मान खुराना, तापसी पन्नु, सोनम कपुर, दिया मिर्जालगायतले दैनिक ज्यालामा जीविकोपार्जन गर्नेहरूलाई सहयोग गर्ने बताइसकेका छन्। उनीहरुले कोभिड १९ को यो संकटबाट लड्न सबैलाई सहयोग गर्न आह्वान पनि गरिरहेका छन्।

भारत सरकारले यसविरुद्ध लड्न देशभर १५ अप्रिलसम्म लकडाउन घोषणा समेत गरिसकेको छ। सरकारले नागरिकलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरिसकेका छन्।

यससग सम्बन्धित समाचार आजको अन्नपूर्ण दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्