भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६८ पुग्यो,संक्रमित ३ हजार नजिक



एजेन्सी,चैत-२२। भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ  भने संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ६००भन्दा बढी बढेर २ हजार ९ सय २ पुगेको छ।मृतकको संख्या  अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा बृद्धि भएको भारतस्थित  केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाअधिकारीहरुका अनुसार  पछिल्लो समयमा मृत्यु भएकामध्ये तीन जना महाराष्ट्र राज्यका, दुई जना दिल्ली र एक जना गुजरात राज्यका रहेका छन् ।

अहिलेसम्मको विवरणबाट सवैभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या महाराष्ट्रमा रहेको देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि धेरै गुजरातमा नौ जनाको मृत्यु भएको छ भने तेलङ्गनामा सात जनाको मृत्यु भएको विवरण छ ।

त्यसैगरी मध्य प्रदेश र दिल्ली प्रदेशमा छ/छ जना, पन्जावमा पाँच, कर्नाटक र पश्चिम बङ्गालमा तीन/तीन जना र जम्मु तथा काश्मिर, उत्तर प्रदेश र केरलामा दुई/दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आन्द्र प्रदेश, तमिलनाडु, बिहार र हिमाञ्चल प्रदेशमा कोरोना भाइरसका कारण एक/एक जनाको मृत्यु भएको छ । कुल सङ्क्रमित दुई हजार ९०२ जना मध्ये ५५ जना विदेशी रहेका छन् ।

सङ्क्रमितको सङ्ख्या पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार महाराष्ट्रमा ४२३ जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्