विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघ्यो,मृत्यु हुने २ लाख १७ हजार बढी



एजेन्सी,वैशाख-१७ ,विश्वभर कोरोना भाइरस (काेभिड १९)को सङ्क्रमितको सङ्ख्या ३१ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या २ लाख १७ हजार बढी पुगेको छ।वल्डाेमिटरले जनाए अनुसार दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३१ लाख ३५ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ९ लाख ५२ हजारभन्दा बढी निको भइ घर फर्किसकेका छन् । १९ लाख ६४ हजारभन्दा बढी भाइरस संक्रमितको भने उपचार भइरहेको छ ।वल्डाेमिटरले भनेको छ उपचार गराइरहेकामध्ये ५७ हजार तीन सय सात जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको छ ।

भाइरस सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी अमेरिकामा छ । केही दिनयता दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएतापनि अमेरिकामा पछिल्लो २४ घण्टामा भने मृत्यु हुनेको संख्या वृद्धि भएको छ । अमेरिकामा थप २४ सय २८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५९ हजार नाघेको छ भने १० लाख २५ हजारभन्दा बढी संक्रमित भएका छन् । मङ्गलबार मात्रै त्यहाँ १३ सय ८४ जनाको ज्यान गएको छ ।

इटलीमा पनि भाइरसबाट ज्यान गुमाउनेको संख्या मङ्गलबारकाे भन्दा बढेको छ । मङ्गलबार तीन सय ३३ जनाको ज्यान गएको इटलीमा गएको २४ घण्टामा थप तीन सय ८२ जनाको ज्यान गएको छ । त्यहाँ सङ्क्रमितको सङ्ख्या पनि बढेर दुई लाख एक हजार नाघेको छ ।

स्पेन र फ्रान्समा भने दैनिक ज्यान गुमाउनेको सङ्ख्या घटेको छ । यी दुई देशमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म साढे २३ हजारभन्दा बढीकाे ज्यान गएको छ । स्पेनमा दुई लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा फ्रान्समा एक लाख ६५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकाे छ । यसैगरी अहिलेसम्म साढे २१ हजारभन्दा बढीकाे ज्यान गएको बेलायतमा गएको २४ घण्टामा थप पाँच सय ८६ जनाले ज्यान गुमाएका छन् । बेलायतमा एक लाख ६१ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

जर्मनीमा सङ्क्रमितको सङ्ख्या एक लाख ५९ हजार नाघेको छ । यसैगरी कोरोनाको उद्गम देश चीनमा ८२ हजार आठ सय ३६ जनामा कोरोना पुष्टि भएकोमा चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ । ७७ हजार पाँच सय ५५ जना निको भएका छन् । यस्तै भारतमा ३१ हजार तीन सय ६० जनामा कोरोना पुष्टि भएकोमा एक हजार आठ जनाको ज्यान गएको छ । त्यहाँ गएको २४ घण्टामा ६९ जनाको ज्यान गएको वल्डाेमिटरले जनाएको छ । सात हजार सात सय ४७ जना भने निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्