विश्वभर २४ घण्टामा अहिलेसम्मकै धेरै १ लाख ६ हजार कोरोना संक्रमित थपिए



काठमाण्डौं,जेठ ८ । विश्वभर एकैदिन अहिलेसम्मकै धेरै संख्यामा कोरोना संक्रमित थपिएका छन। पछिल्लो तथ्यांकअनुसार बितेको २४ घण्टामा विश्वभर १ लाख ६ हजार नयाँ कोरोना संक्रमित थपिएका हुन । यो तथ्यांक विश्वमा कोरोना फैलिए देखि यताकै उच्च भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाको महामारी अझै लामो समय जान सक्ने भन्दै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एदनामले सबै मिलेर महामारीको सामना गर्नुको विकल्प नरहेको बताएका छन् ।

बितेको २४ घण्टामा अमेरीकामा २० हजार जना बढी , ब्राजिलमा १९ हजार जना बढी,रुसमा ८ हजार , भारतमा ५ हजार बढी संक्रमित थपिएका छन । यद्यपि ब्राजिल लगायतका केही मुलुकमा संक्रमण र मृत्यु निरन्तर बढीरहे पनि युरोपेली देशमा भने संक्रमण र मृत्यु दुबैमा कमी आउदै गएको छ ।

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ५० लाख ८० हजार नाघेको छ। संक्रमितको वृद्धि सङसङै मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन। पछिल्लो समय विश्वमा मृत्यु हुनेको संख्या ३ लाख २९ हजार नाघेको छ । कोरोना भाइरसबाट मुक्ति पाई घर फर्कनेको संख्या भने २० लाख २० हजारको संख्यामा रहेका छन् । उक्त संख्या निको भइ घर फर्कन सफल भएका छन् ।

विश्वमा सबै भन्दा धेरै मृत्यु अमेरीकामा ९४ हजार भन्दा बढी छ भने संक्रमित पनि १५ लाख ९१ हजार नाघेको छ । त्यस पछि संक्रमणमा यूरोपलाई रुस र ब्राजिलले उछिनेको छ । रुसमा ३ लाख ८ हजार संक्रमित छन् भने २९ सय ७२ जनाको मृत्यु भएको छ ।

यसै गरी ब्राजिलमा २ लाख ९१ हजार संक्रमित पुगेका छन् भने १८ हजार ८ सय बढीको मृत्यु भएको छ । युरोपेली देश ईटाली, जर्मनी,फ्रान्स , स्पेनमा यस अघि नै बढी मृत्यु भईसके पनि पछिल्लो दिनहरुमा दैनिक मृत्युदर घटेको छ ।

यता भारतमा भने संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । भारतमा कुल संक्रमित एक लाख १२ हजार बढी रहेको छ भने ३४ सय बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्