राष्ट्रपति र मविरुद्ध षडयन्त्र भयो:प्रधानमन्त्री ओली



काठमाडौ,असार २१। प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला आफू र  राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन।यस प्रकारको षड्यन्त्रविरुद्ध आफुपनि पछि नहट्ने भन्दै प्रधानमन्त्री ओलीले जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आ–आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए। भेटेर फर्केपछि साँझ ७ बजे उनले पार्टीभित्रैबाटै राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई हटाउने षड्यन्त्र भइरहेको मन्त्रीहरूलाई बताए ।

‘तपाईंहरूले अहिलेको परिस्थिति बुझ्नुभएकै छ, पार्टीभित्रैबाट साथीहरू राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने अभियानमा लाग्नुभएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘तर म अन्तिमसम्म यसको सामना गर्छु ।’

सहमतिका लागि छलफल गर्न भन्दै स्थायी कमिटी बैठक दुई दिन रोकिएको अवस्थामा प्रधानमन्त्री ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्री र आफ्ना सल्लाहकारहरूलाई समेत बोलाएर पछिल्लो परिस्थिति अवगत गराएका हुन् ।

ओलीले पार्टी विभाजनको संघारतिर लागिरहेको भन्दै आफ्नो पक्षमा हुने र नहुनेहरूले कित्ता क्लियर गर्नुपर्ने बताए । ‘हामीमाथि ठूलो षड्यन्त्र भएपछि तपाईंहरूलाई जानकारी दिऊँ भनेर यो बैठक बोलाएको हुँ, अहिले थप छलफल गर्ने समय भएन,’ प्रधानमन्त्रीले भने, ‘यो विषयमा फेरि अर्काे छलफल गरौंला, सोच्दै गर्नुुस्, अर्काेपटक बस्दा मेरो पक्षमा हो कि विपक्षमा हो, साइड क्लियर गरेर आउनुस् ।’

याे समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्