नेकपा नेताहरुलाई लगालग भेट्दै चिनियाँ राजदूत यान्छी, शक्ति संघर्षमा चासो



साझापथ संवाददाता
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पार्टीको आन्तरिक विवादमा रुमल्लिएका सत्तारुढ नेकपाका नेताहरुलाई लगालग भेट्न थालेकी छन् । सोमबार वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गरेकी यान्छीले मंगलबार बिहान नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी हुन् । खनाल निवास डल्लुमा भएको दुई पक्षीय भेटवार्ता करिब ४५ मिनेट चलेको थियो ।

कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ । नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढेको छ ।

नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ । चिनियाँ राजदूतको सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भनेर आलोचना गर्ने गरेका छन् । नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक संघर्ष चर्किएको थियो । ओली पक्षले राजीनामा नदिने बरु नयाँ पार्टी खोल्ने धम्की दिएपछि ओलीइतर समूह केही मत्थर देखिएको छ ।

नेकपाभित्रको विवाद मत्थर हुनुलाई कतिपयले चिनियाँ राजदूतको सक्रियतासँग पनि जोडेर हेर्ने गरेका छन् । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार पनि छलफल हुने कार्यक्रम छ । यसअघिका छलफल सकारात्मक हुन सकेको छैन । प्रधानमन्त्रीसमेत रहेका ओलीलाई सरकार सञ्चालन सही ढंगले गर्न नसकेको भन्दै राजीनामा दिन दबाब बढेको छ । तर उनले दुवै पद नछाड्ने अडान दोहोर्‍याइरहेका छन् ।

मुलुक कोरोना भाइरसबाट प्रताडित रहेको बेला नेकपाका नेताहरु पद र आन्तरिक खिचातानीमा अलमलिएको भन्दै चौतर्फी आलोचनासमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्