अब पुस्तकको आईएसबीएन नम्बर अनलाइनमार्फत



काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अबदेखि अनलाइनमार्फत पुस्तकको ‘अन्तर्राष्ट्रिय मानक पहिचान चिह्न’ (आईएसबीएन) सेवा प्रदान गर्ने व्यवस्था गरेको छ ।
बिहीबार यहाँ आयोजित कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले अर्विन्दकुमार केशरीले लेख्नुभएको ‘a Text book of Higher secondary Biology’ पुस्तकलाई ९७८–९९३७–९९९८–१६आईएसबीएन अनलाइनबाट प्रदान गरी सेवाको शुभारम्भ गरे । यसअघि पुस्तकको आईएसबीएन नम्बर लिनका लागि केन्द्रीय पुस्तकालय आउनुपर्दथ्यो ।

सो अवसरमा उनले बन्दाबन्दी (लकडाउन)को अवसर पारेर पुस्तकालयले आईएसबीएन सेवा अनलाइनमार्फत उपलब्ध गराएर प्रविधिलाई आत्मसात् गरेको बताए ।

शिक्षाध्यक्ष प्राडा भुसालले विश्वविद्यालयले विपद्लाई अवसरको रुपमा प्रयोग गर्दै प्रविधिमैत्री अध्ययन अध्यापन कार्य सञ्चालन गर्ने योजना बनाइरहेकोसमेत बताए । ।

सन् २००० जनवरी २६ देखि नेपालबाट प्रकाशन भएका पुस्तकलाई अन्तर्राष्ट्रिय मानक पहिचान चिह्न प्रदान गर्ने राष्ट्रिय एजेन्सीको रुपमा केन्द्रीय पुस्तकालयले काम गर्दै आइरहेको छ । २० वर्षको अवधिमा ५५ हजार पुस्तकलाई आईएसबीएन नम्बर प्रदान गरेको पुस्तकालयका प्रमुख श्रेष्ठले जानकारी दिए ।

चवालिस हजार ३६९ पुस्तकको कम्प्युटरमा डाटा इन्ट्री भई वेबसाइटमा हेर्न सकिने भएको छ भने बाँकी पुस्तकहरु पनि कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्