प्रधानमन्त्रीबारे भारतीय मिडियाले गरेको गलत प्रचारविरुद्ध राजनीतिक र कानुनी उपचार खोज्छौं : सरकारका प्रवक्ता



सरकारले नेपालको विषयमा अनर्गल प्रचार गर्ने भारतीय सञ्चार माध्यममाथि राजनीतिक र कानुनी उपचार खोज्ने भएको छ । पछिल्ला दिनमा भारतीय सञ्चारमाध्यमले नेपालको सार्वभौमसत्ता र अखण्डताको विषयमा अनर्गल प्रचार गरेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धसमेत उनीहरुले पत्रकारिताको सामान्य सिद्धान्तसमेत बिर्सेर गलत प्रचार गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रवक्तासमेत रहेका मन्त्री डा युवराज खतिवडाले सञ्चारमाध्यमले स्वच्छ, स्वस्थ र पारदर्शी ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

उनले भने ‘सञ्चारमाध्यम चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्छ ।’ उनले दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकारले भर्त्सना गर्ने बताए ।

सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने चाहेको स्पष्ट पार्दै मन्त्री डा खतिवडाले भारतीय सञ्चारमाध्यमको गलत प्रचारको विरुद्धमा कूटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने उल्लेख गरे । ।

विशेषगरी भारतीय टेलिभिजनमा प्रसारित समाचार सामग्रीबारे उनले स्पष्ट शब्दमा भने ‘हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीको स्वाभिमानमा आँच पुर्‍याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गर्छौँ । यसका पछाडि कानुनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन् । राजनीतिक र कानुनी दुवै उपचार खोज्नुपर्ने हुन्छ ।’

पछिल्ला दिनमा भारतीय टेलिभिजनले नेपालको आन्तरिक मामिलालाई लिएर गलत प्रचारप्रसार गरिरहेका छन् । नेपाल पत्रकार महासङ्घले पनि बिहीबार नै एक विज्ञप्ति मार्फत भारतीय टेलिभिजनको प्रचार असत्य, भ्रामक र कपोलकल्पित भएको जनाएको छ ।

हद भयो बकबास बन्द गर : प्रवक्ता श्रेष्ठ

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भारतीय सञ्चारमाध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले भनेका छन् “हद भयो, बकवास बन्द गर ।” प्रवक्ता श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एकढिक्का भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि केही भारतीय मिडियाले पत्रकारिताबाहेक अरू थोकमात्र गरिरहेको बताएका छन् । उनले यस्ता आधारहीन सम्प्रेषणले नेपालमा कुनै अर्थ नराख्ने भन्दै जिम्मेवार पत्रकारिताका लागि यस्तो समाचार लज्जाको विषय हुने उल्लेख गरे ।

प्रेस सङ्गठनको गम्भीर ध्यानकर्षण
यस्तै, प्रेस सङ्गठन, नेपालले पनि एक विज्ञप्तिमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यमले प्रशारण गरिरहेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा पत्रकारिताको न्यूनतम् मूल्यमान्यतासमेत पालना नगरी प्रसारण गरिएको भन्दै आपत्ति जनाइएको छ । विज्ञप्तिमा भनिएको छ “तथ्यहिन र मर्यादाहिन सामग्री जिम्मेवार पत्रकारिता मात्रै होइन, सभ्य समाजको निम्ति पनि लज्जाको विषय हो ।”

प्रतिक्रिया दिनुहोस्