आदिकवि भानुभक्तको २०७ औं जन्म जयन्ती मनाइँदै



काठमाडौं,असार २९ । आज देशभर नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरिएको छ ।

भानुभक्त आचार्यले संस्कृतमा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद गरेर सरल नेपाली ‘रामायण’ प्रस्तुत गरेका थिए । जुन नेपाली साहित्य क्षेत्रमा अतुलनीय गुनका रुपमा नेपालीले लिदै आएका छन् । उनले लेखेको रामायण पछिल्लो समयसम्म घरघरमा लय हालेर पढ्ने गरिन्छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तले पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेको मानिन्छ । भानुभक्तलाई एक घाँसीले ‘जन्मेपछि केहि न केहि राम्रो काम गर्नुपर्छ र नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकै कारण उनि रामायणलाई नेपालीमा भाषानुवाद गर्न प्रेरित भएका थिए ।

भानुभक्तद्वारा लिखित धेरै कृतिहरु चर्चामा पछिल्लो समयसम्म रहेका छन् । प्रसिद्ध कृतिमध्ये ‘वधुशिक्षा’ उनको एक कृति हो । त्यस्तै ‘प्रश्नोत्तर’,‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनाहरु चर्चामा रहेका छन् । उनि कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा समेत परेका थिए । यसर्थ उनले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका छन् -‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।

विसं १९२५ असोजमा यस धर्तीबाट जीवनलीला गुमाएका भानुभक्तका बारेमा विभिन्न अध्येता एवं भाषाविदले उच्च प्रसंशा गरेको पाइन्छ ।उनले नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन अभूतपूर्व योगदान पुराएको मानिन्छ ।

नेपाली समालोचकहरुले भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको बताउदै आएका छन् ।

भानु जयन्तीको अवसरमा आज बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगरप्रभातफेरी गर्ने कार्यक्रम गर्ने तयारी गरिएको छ । यसैगरी अभिनव साहित्य समाजले भानुजयन्तीकै अवसरमा आज जोरपाटीमा विशेष साहित्यिक कार्यक्रमसहित पुस्तक विमोचन कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । भानुभक्तको जन्मजयन्तीको अवसरमा भारतस्थित दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा समेत धुमधामका साथ मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्