सेवामा समर्पित एक अद्‍भूत शिक्षक ‘डीबी सर’



जीवन जीउने हरेकका आफ्नै शैली र रुचि हुन्छन् । कोही अरुको लिएर जीवनयापनमा खुसी खोज्छन् भने कतिपय दिएर खुसी लिइरहेका हुन्छन् । धेरै व्यक्ति क्षणिक स्वार्थका लागि सामाजिक काममा लाग्छन् तर केही त्यस्ता व्यक्ति पनि हुन्छन्, जो आजीवनजस्तै समाजसेवामा लागिरहेका हुन्छन् । त्यस्तै नि:स्वार्थ सेवामा समर्पित व्यक्ति हुन्, शिक्षक दलबहादुर क्षत्री । जन्मठाउँ दार्जिलिङबाट निकै टाढाको दूरीमा पर्ने नेपालको नुवाकोट पञ्‍चकन्या गाउँपालिका ३ घलेगाउँमा सेवारत छन् उनी । कर्मक्षेत्रमा सबैले उनलाई ‘डीबी सर’ भनेर चिन्छन् ।

कृषि विषयमा स्नातक गरेका डीबी सर घलेगाउँमा पसेको एक दशक पुगेको छ । पञ्‍चकन्या जनकल्याण युवा समाजद्वारा सञ्चालित जनकल्याण सामुदायिक पाठशालामा प्रधानाध्यापक (प्रिन्सीपल) को रुपमा सेवा प्रवेश गरेका हुन् । अंग्रेजी माध्यमबाट पठाइ गरिने पाठशाला युवा समाजका तत्कालीन उपाध्यक्ष अर्जुन थापा (हाल वरिष्ठ उपाध्यक्ष), निवर्तमान कोषाध्यक्ष (हाल सल्लाहकार) रामचन्द्र कार्कीको विशेष पहलमा स्थापना गरिएको हो । जहाँ डीबी सरले नेतृत्व लिइरहेका छन् । पञ्‍चकन्या गाउँपालिका, नुवाकोटबाट शैक्षिक गुठीअन्तर्गत सञ्चालन अनुमति प्राप्त जनकल्याण सामुदायिक पाठशालामा युवा समाजबाट सहयोग हुँदा/नहुँदा एकलव्य भएरले काम गर्दै आएका डीबी सरलाई अहिले कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले जारी गरेको लकडाउनले शिक्षणबाट फुर्सद मिलेको छ । यसै मौकामा साझा पथ संवाददातासँग उनले विगत, वर्तमान र भविष्यका योजना सुनाएका छन् ।

सन् १९५७ मा दार्जिलिङमा जन्मेका डीबी सर नेपाल घुम्ने इच्छाले सन् १९८८ मा काठमाडौं आएका थिए । त्यसबेलाको घुमाइले नेपालमा डीबी सरलाई मोहनी नै लगायो । भ्रमण गरिसकेर जन्मभूमि फर्किएका उनी सन् १९९० सालमा काम गर्ने मुडमा फेरि नेपाल आए । पेसाले शिक्षक रहेका उनी अंग्रेजीमा पोख्त थिए । सुरुमा शिक्षण पेसा नपाएसी गार्मेन्ट फ्याक्ट्रीमा दोभाषेका रुपमा काम गरे । त्यसको एक वर्षपछि ग्यालेक्सी पब्लिक स्कुलमा पढाए । त्यहाँ पनि एक शैक्षिक सत्र काम गरेर साढुदाइसँग मिलेर काठमाडौंमा देश तिलक स्कुल सञ्चालन गरे । ६ वर्षजत्तिको सेवा सकिएपछि फेरि डीबी सर घट्टेकुलोमा रोजवर्ड स्कुलको प्रिन्सिपल हुन पुगे । त्यहाँ पनि ८ वर्ष जति काम गरेर एसियन पब्लिक स्कुल अनामनगरमा शिक्षक र होस्टल वार्डन भएर काम गरे । त्यही बेला भेट भएका पञ्‍चकन्या जनकल्याण युवा समाजका तत्कालीन पदाधिकारीहरु अर्जुन थापा र रामचन्द्र कार्कीले आफ्नो गाउँमा बोर्डिङ स्कुल आवश्यक रहेको र टिचर आवश्यक छ जानु पर्‍यो भन्ने प्रस्तावपछि डीबी सर राजी भए ।

वि.सं. २०६७ सालमा स्थापना भएको जनकल्याण पाठशालामा प्रिन्सिपल भएर उनी घलेगाउँ आएका हुन् । प्रकृति र एकान्त रुचाउने डीबी सरलाई पञ्‍चकन्याको माटो, हावापानी, रहनसहनले तानिरहेको छ । डीबी सर भन्छन्, ‘यहाँ आइसकेपछि विद्यालयमा पढाउने स्थानीयको आर्थिक अवस्था उकास्न आधुनिक खेतीपातीको ज्ञानगुन सिकाउँदै आएको छु ।’ जनकल्याण पाठशाला पञ्‍चकन्या गाउँपालिका ३ मा एक मात्र सामाजिक क्षेत्रबाट सञ्चालित अंग्रेजी माध्यममा पढाइ हुने विद्यालय हो । यस विद्यालय समाजसेवामा सक्रिय युवाहरुको पहल र सक्रिय सहभागीतामा मुनाफारहित तवरबाट सञ्चालनमा रहेको छ । सहर लैजान नसक्ने र सरकारी विद्यालयको विकल्पमा बालबालिका पढाउन चाहने मध्यम आय भएका अभिभावकका लागि उपयुक्त विद्यालय हो । जसले पञ्‍चकन्या गाउँपालिका वडा नम्बर ३ का घलेगाउँ, पीपीलडाँडा, लाकुरीभन्ज्याङ, कार्कीगाउँ, कात्तिके, वडा नम्बर ५ का माथिल्लो भेग जैसीगाउँ, नेवारपानीलगायतका बालबालिका लाभान्वित भइरहेका छन् । त्यस भेगका एक मात्र सामाजिकस्तरबाट चलेको विद्यालय भएकोले यातायातको सुविधा र व्यवस्थापन चुस्त बनाउन सकेमा पञ्‍चकन्या वडा नम्बर ४ का थप्रेक, आरुखर्क, दुप्चेश्वरको बालकुमारी, शिवपुरीको खनियाखर्क, जेब्राङ, महाकाली, पञ्‍चकन्याका भद्रुटार, फुर्केसल्ला, च्वानडाँडा, बयागाउँ, वडा नम्बर २ का कविलास लगायत स्थानबाट समेत विद्यार्थी आउने स्थानीय बताउँछन् ।

१० वर्षदेखि जनकल्याणको नेतृत्वमा रहेका डीबी सर अझै केही वर्ष स्थानीय टिचर उत्पादन र प्रशिक्षण गराएर मात्र फर्कने सुरमा छन् । ठूलो आम्दानीको बाटो नहेरी लामो समयसम्म शिक्षण गरिरहेका डीबी सर कार्यक्षेत्रका स्थानीयमा सुरुमा हेरी अहिले नानीबाबुहरुलाई गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने चेतना विकास भएको अनुभव सुनाउँछन् । ‘स्थानीयले सुरुमा बोर्डिङ भन्ने महत्व बुझेका थिएनन् तर अहिले धेरै सचेत भइसकेका छन्’ उनले थपे, ‘अहिले आफ्ना छोराछोरीहरुलाई पढाउनुपर्छ भन्ने चेतना जागिसकेको छ ।’ तर काम गर्दै जाँदा गाउँमा राम्रा र अनुभवी टिचर नहुनु र बाहिरबाट समेत आउन नचाहँदा धेरै कठिनाइ भोग्नु परेको डीबी सर सुनाउँछन् । उनका अनुसार विद्यार्थीको प्रगतिका लागि स्कुलले मात्रै जोड गरेर नहुने भन्दै अभिभावकका कमजोरीले पनि गुणस्तरीय शिक्षामा प्रभाव परिरहेको छ । ‘अभिभावकले धेरै माया गरेर बच्चाहरु छाडा भए, जसकारण स्कुलले तह लगाउन गाह्रो छ,’ उनले थपे ‘होमवर्क गर्दैनन्, पढ्ने बानी बसाउन नसक्दा समस्या छ ।’

सेवाको मुख्य भावले जीवनको अधिकांश समय न्यूनतम पारिश्रमिकमा पढाउँदै आएका डीबी सर सम्झना र कर्तव्य पूरा गर्न पाउँदा पैसा कमाउनुपर्छ भन्ने तर्फ ध्यान नजाने गरेको बताउँछन् । ‘आफ्नो कर्तव्य पूरा गर्ने, सेवा गरेमा भोलिका दिनमा सम्झना हुन्छ’, सारा पीडा भुलेर उनले भने, ‘जति पैसा कमाए पनि त्यत्ति नै हो ।’

कक्षा ५ सम्म पढाइ हुने जनकल्याण सामुदायिक पाठशालामा गत वर्ष चैतमा नयाँ ठाउँमा, नयाँ भवन बनेको छ । नयाँ शैक्षिक सत्रमा विद्यालय पूर्वाधारको फिनिसिङ, नयाँ आगन्तुक विद्यार्थीलाई मध्यनजर गर्दै तयारी गरिएको थियो । तर लकडाउनका कारण यस वर्ष पढाइ ढिलाइ गरी सञ्चालन भएको छ । सहनशील, आशावादी र निकै परिश्रमी डीबी सर यस वर्ष विद्यालयमा वाईफाइ जोडेर प्रविधियुक्त पढाइ, विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप, खेलकुदका अलावा अन्तरविद्यालय समन्वय गरेर विद्यार्थीबीच प्रतिस्पर्धा गराउने योजना रहेको सुनाए ।

कुखुरापालनमा सक्रिय
मुख्य पेसा शिक्षण भए पनि उनले स्थानीयलाई सिकाउन र आफ्नो दैनिकी चलाउन घलेगाउँमा ठूलो संख्यामा पहिलोपटक ब्रोइलर कुखुरा पालन सुरु गर्ने डीबी सर नै हुन् । करिब आठ वर्ष ब्रोइलर पाल्न थालेका उनले पछि लेयर्स जात, कोइलर र माछासमेत पालन गरे । एकछिन हात बाँधेर बस्न नरुचाउने डीबी सरको कुखुरा व्यवसायमा सुरुमा कमाइ नभए पनि पछिल्लो समय आम्दानी हुन थालेको छ । भर्खरी ५ सय ब्रोइलर चल्ला हुर्काएर आम्दानी गरेका छन् । दुई महिनामा खानायोग्य हुने ब्रोइलरबाट ५ सय चल्ला हाल्दा सप्रिएमा ४०/४५ हजार खुद नाफा हुने उनको अनुभव छ ।

कुखुरा फार्म

धेरै स्थानीयले बजार अभाव भनेर कुनै पनि व्यवसाय गर्न हच्किने गरे पनि अहिले बजारको समस्या नरहेको डीबी सर बताउाछन् । एक त घलेगाउँ पञ्‍चकन्या गाउँपालिकाको केन्द्र भएकाले ४५ किलोमिटरको दूरीमा रहेको काठमाडौंसम्म सडक यातायातको पहुँच र खोरमै खरिद आउनाले कुखुराको बजार समस्या नभएको उनले बताए । लकडाउनका कारण बजार खस्किएला कि भनेर उनले फेरि २ सय ५० चल्ला हुर्काउन थालेका छन् । जाँगर र धेर थोर लगानी भएमा कुखुरा व्यवसाय आयआर्जनका लागि राम्रो माध्यम भएको डीबी सरको सल्लाह छ ।

अर्ग्यानिक तरकारी खेती पनि
डीबी सर गुड टिचर हुन् । उनी कलिला नानीबाबुहरुको दिमागमा सुसंस्कार, सुविचार र किताबी ज्ञानमात्रै बाँडिरहेका छैनन्, स्थानीयले खेतीयोग्य जमिन खेर नफालुन् र परिश्रम, मेहनत गर्ने बानी बसालुन् भनेर नयाँ नयाँ कामधन्दा गर्दै आएका छन् । शिक्षण, कुखुरा पालन व्यवसायको अलावा उनले अग्र्यानिक तरकारी उत्पादन गरिरहेका छन् । एभरेस्ट टाइम्स सम्वाददाता कुराकानीका लागि मंगलबार डीबी सरकहाँ पुग्दा उनी तरकारीबारीमै गोडमेल गरिरहेका थिए । गत वर्ष ५ हजार वार्षिक भाडा तिर्ने गरी घरपेटी बाबुराम विष्टको १ रोपनी जग्गामा तरकारी खेती लगाएका उनले यसपटक लकडाउनलाई सदुपयोग गर्दै डेढ रोपनी बढाएर साढे २ रोपनी जग्गा लिजमा लिएर खेती गरिरहेका छन् ।

अर्ग्यानिक तरकारी बिक्रीका लागि टिप्दै डीबी सर

जनकल्याण पाठशालाको डिउटीबाहेकका समय प्राय: तरकारी खेती र कुखुराको स्याहारसुसारमा खटिइरहने डीबी सरले अचेल दैनिक कमाइ पनि गर्न थालेका छन् । यस वर्ष पहिलो उत्पादन फर्सीले दिएको थियो भने अहिले सिमी, भेन्टा, काँक्रोको बिक्री हुन थालेको छ । उनका अनुसार कम्तीमा पनि तीन आइटमबाट दैनिक ३ सय जति आम्दानी हुन्छ ।

६ हजारभन्दा बढीको बिउविजन लगानी गरेका उनको अर्ग्यानिक खेतीमा गोलभोडा, सिमी, भेन्टा, करेला, फर्सी, घिरौला, चिप्लीभेन्टी, खुर्सानी, काँक्रो लगायत परिकार लगाएका छन् । सुपथ मूल्यमा तरकारी बेचिरहेका डीबी सर लकडाउनले सहरमा गाडी नजाँदा बिक्री नहोला कि भन्ने चिन्ता व्यक्त गर्छन् । यसपटक ज्याँदै पानी परेकाले पनि तरकारी उत्पादन कम हुने उनको अनुमान छ । यद्यपि मेहनतको फल भने अवश्य आउनेमा उनी ढुक्क देखिन्छन् ।

कुनै पनि काममा मानिसहरु दत्तचित्त भएर लागेमा शान्ति र सन्तुष्टि मिल्छ भनिन्छ, हो त्यस्तै हुन्छ रे डीबी सरलाई । ‘तरकारीबारीमा काम गर्दा मन शान्त हुन्छ, टेन्सन छैन’, उनले भने, ‘चाहेको तरकारी खाना पाइयो, अभाव भएन ।’ गाउँघरमा किनबेचभन्दा पनि अ‍ैंचोपैंचो र कोसेली बाँड्ने चलन बढी छ । तरकारी कोसेली दिन डीबी सर पनि लालयीत छन् । उनले भने, ‘बेचेरमात्रै भएन, कोसेली दिनुपर्‍यो, दिने गरेको छु ।’ कामले काम सिकाएजस्तै यसपटक डीबी सरले घलेगाउँमा आवश्यक तरकारी उत्पादन गरे पनि बिउविजनको डिमाण्ड पूरा गर्न नसकेकोमा थकथकी मानिरहेका छन् । उनले भने, ‘यहाँ धेरैले बिउ खोज्दारहेछन्, यसपटक डिमाउन्ड पूरा गर्न सकिनँ । अर्को साल बीउ बिरुवा उपलब्ध गराउँछु ।’ त्यत्तिमात्रै होइन, उनी अर्को साल फूलखेती पनि आरम्भ गर्ने विचारमा छन् ।

तरकारी खेतीलाई सिाचाई त चाहिन्छ नै अर्ग्यानिक उत्पादनका लागि मल चाहिन्छ । आफैं कुखुरापालन गर्ने भएकोले डीबी सरलाई मलको खाँचो छैन । बिउ, मल अलावा तरकारी खेतीका लागि नियमित रेखदेख आवश्यक रहेको उनी सुनाउाछन् । उनको सुझाव छ, ‘नियमित रेखदेख हुनुपर्छ । मुख्य रुपमा झार फाल्नुपर्छ । ताकि बिरुवाले खाने मल झारलाई खान दिन भएन ।’ डीबी सरको बुझाइमा घलेगाउँ भेगको माटो जुनसुकै उत्पादनको लागि योग्य छ । उनले सुरु गरेको व्यवसाय र खेतीका कारण अहिले स्थानीय प्रेरित भइरहेको डीबी सरको दाबी छ । ‘मेरो तरकारी बारी हेरेर गर्‍यो भने के नहुने रहेछ र भन्ने पब्लिकलाई लागेको छ,’ उनले भने, ‘यहााको माटो राम्रो भएकोले जुन पनि खेती हुन्छ । विशेषगरी फलफूल र तरकारी खेती ।’ उनले जमिन नभएकालाई गाह्रो भइरहेको भन्दै भएको जमिन सदुपयोग गर्न अनुरोध गरेका छन् । कुनै किसानलाई परामर्श चाहिएमा पनि आफू नि:शुल्क रुपमा दिन तयारी रहेको उनले बताए ।

दुई छोरी र एक छोराका अभिभावक डीबी सर सबै आफ्नो खुट्टामा उभिन सिक्नु पर्ने बताउँछन् । उनका एक छोरी टिचर, अर्की पढ्दै र छोरो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट)मा काम गर्छन् । आफूले प्रशस्त रकम कमाएर पठाउन नसके पनि समाजसेवा गरेकोमा श्रीमतीसहित परिवार खुसी रहेको उनले सुनाए । जीवन बदल्नका लागि अध्ययनसँगै समयलाई महत्व दिनुपर्ने उनको भनाइ छ । ‘मेरो लागि समय धेरै महत्वपूर्ण छ । एउटै कुरालाई दोहोर्‍याइरहेको मलाई मन पर्दैन,’ उनले भने, ‘घरमा श्रीमती, छोराछोरीसँग बोल्नु परे बढीमा एक मिनेट ।’ गाउँमै डेरा लिएर बसिरहेका प्रेरक डीबी सर बिहान साढे ५ बजे जाग्छन् । चियानास्ता पछि तरकारी बारीमा पसिहाल्छन् । फेरि कुखुरा फार्म, खाना पकाउने र स्कुल चलेको बेला ९:४० मा हाजिर भइहाल्छन् । डेरादेखि करिब ७ मिनेटको दुरीमा रहेको जनकल्याण सामुदायिक पाठशालाबाट छुट्टी हुनेबित्तिकै खाजा पछि कुखुरा फार्म, तरकारी खेतीको रेखदेखमै खटिन्छन् । पढाइका अलावा समाचार सुन्नमा रुचि गर्ने उनी राति १० बजे सुत्ने बानी रहेको बताउँछन् ।

भनिन्छ, धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन । डीबी सर जीवनमा आयआर्जन ठूलै गर्न नसके पनि शिक्षण, तरकारी र कुखुरापालनबाट बचेको रकम शैक्षिक छात्रवृत्ति, जेष्ठ नागरिकलाई सहयोग गर्ने सोच बनाइरहेका छन् । ‘पैसा भयो भने अभिभावक नभएका दुई, तीन जना बालबालिकालाई मेरो कमाइबाट फि तिरेर पढाउने मन छ,’ उनले भने, ‘वृद्धवृद्धालाई कोही बेला मीठो मसिनो खुवाउने, लुगा फेरिदिने योजना छ ।’

प्रस्तुति : एलोन तितुङ

प्रतिक्रिया दिनुहोस्