विश्‍व स्वास्थ्य संगठनको चेतावनी- ‘कोरोना भाइरसको संकट झनै खराब भएर जान सक्छ’



विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारीको संकट झनै खराब भएर जान सक्ने चेतावनी दिएको छ ।

सबै राष्ट्रहरुले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरुको पालना नगरेमा भयावह अवस्था आउने चेतावनी दिइएको हो । ‘मलाई सोझो भन्न दिनुहोस्, धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन्, भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रुपमा रहिरहेको छ,’ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेसले जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा भनेका छन् ।

उनले आधारभूत कुराहरुलाई पालना गरिएन भने महामारी जारी रहने र झनै खराब, खराब र खराब बन्दै जाने बताए । उनका अनुसार धेरै नै मुलुकहरु गलत दिशातिर अघि बढिरहेका छन् र विश्वव्यापी रुपमा संक्रमितको संख्या १ करोड ३० लाख नजिक पुगिसकेको छ ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार, मंगलबार बिहानसम्ममा विश्वभरिमा कोरोना भाइरसले १,२९,८४,८११ जनालाई संक्रमित तुल्याइसकेको छ । तीमध्ये ५,७०,३७५ जनाको निधन भइसकेको छ भने ७१,५६,९२५ मानिसहरु निको पनि भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्