अमेरिकी सर्वोच्च अदालतद्वारा मृत्युदण्ड सम्बन्धी संघीय कानुन सदर



वासिङ्टन, असार ३० । अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्ड सम्बन्धी संघीय कानुन लागू गर्न संघीय प्रशासनलाई अनुमति दिएको छ । तल्लो अदालतले संघीय कानुन कार्यान्वयनमा ढिलाई गर्न यसअघि दिएको आदेशलाई उल्ट्याउँदै सर्वोच्चले नयाँ आदेश दिएको हो ।

ट्रम्प प्रशासनको अनुरोधमा विवादास्पद संघीय मृत्युदण्ड सम्बन्धी कानुन पुनः १७ वर्षपछि ब्यूँताइएको हो । अमेरिकामा हाल चार जनालाई संघीय कानुन बमोजिम मृत्युदण्ड दिन लागिएको छ, तर यसअघि जिल्ला अदालतका न्यायाधीशले उक्त मृत्युदण्ड कार्यान्वयन गर्नुअघि कानुनी चुनौतीका लागि बाटो खुला गर्न आदेश दिएका थिए ।

मृत्युदण्डको पर्खाईमा रहेका पहिलो व्यक्तिमा आर्यन पिपुल्स रिपब्लिक नामको संस्थाका संस्थापक डेनिएल लेविस ली रहेका छन् । उनीमाथि उक्त संस्थालाई पैसा जुटाउन भएको डकैतीमा एक परिवारका तीन जनाको हत्या गरेको आरोप छ । सर्वोच्चको आदेशमा जिल्ला अदालतको आदेशलाई भ्याकेटमा राखिएको र यसअघिकै पूर्व निर्धारित योजना बमोजिम मृत्युदण्डको कार्यक्रम अघि बढाउन अनुमति दिइएको उल्लेख छ ।

संघीय कानुन बमोजिम सन् २००३ पछि संयुक्तराज्य अमेरिकामा मृत्युदण्ड दिइन लागेका ली पहिलो व्यक्ति हुन् । साथै संघीय मृत्युदण्डको पक्षमा उभिएका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा हुन लागेको यो मृत्युदण्ड पनि पहिलो नै हो ।

प्रतिक्रिया दिनुहोस्