कोरोनाको सन्दर्भमा मनमैजु सांस्कृतिक समाजले मन्थन चलाउने



काठमाडौं ३० असार । कोरोनाले ल्याएको परिवेश र यसपछि बदलिने समयलाई मध्यनजर गर्दै मनमैजु सांस्कृतिक समाजले विकास, संस्कृति र साहित्य समेटेर बहसमूलक मासिक नियमित छलफल ‘मन्थन’को सुरु गर्ने भएको छ ।

तारकेश्वर नगरमा बसोबास गर्ने विभिन्न विषयगत विज्ञहरु, उद्यमी तथा व्यवसायी, कृषक, संचारकर्मी, कलाकर्मी तथा सांस्कृतिक कर्मीहरुलगायत सामाजिक तथा राजनीतिक अगुवाहरुलाई अतिथिका रुपमा आमन्त्रण गरी उनीहरुका अनुभव सुन्ने तथा विचारहरुमा अन्तर्क्रिया गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिन लागिएको हो । नगरमा बसोबास गर्ने नागरिक, विज्ञहरु, जनप्रतिनिधि, सामाजिक संघसंस्था, अभियानकर्मीहरु तथा विभिन्न सरोकारवालाहरुबीच सम्बन्ध प्रगाढ होस् र आपसी अनुभवहरु एक अर्काप्रति बाँड्ने वातावरण निर्माण भई विकासले गति लिन सकोस् भनेर मन्थनको सहजीकरण गर्न लागिएको आयोजकको जनाएको छ ।

तारकेश्वरको समृद्धिको यात्रामा सघाउन, सामाजिक एवं आर्थिक, वातावरण, शिक्षा, संस्कृति तथा कृषि लगायत पर्यावरण, विपद् व्यवस्थापनजस्ता विषयहरुमा पनि मन्थन गरिनेछ । छलफलमा आएका विचार र सुझावहरुलाई आधारमानी तयार पारिएको प्रतिवेदन सार्वजनिक पहुँचमा अभिलेखका रुपमा उपलब्ध हुनेछ । मन्थन हरेक महिनाको पहिलो शनिबार दिउँसो ३ बजे मसाँस कार्यालयमा आयोजना हुने छ ।

कार्यक्रममा इच्छुक नगरवासी, विषयगत विज्ञहरु, जनप्रतिनिधिहरु, मिडियाकर्मी लगायतका सहभागीहरु हुन सक्नेछन् । कार्यक्रममा सहभागी हुन शुल्क तिर्नु पर्दैन तर अग्रिम सूचना भने दिनु पर्नेछ । पहिलो कार्यक्रम आगामी श्रावण ३ गते हुनेछ । मन्थनमा प्रा डा केशवराज खड्का पहिलो अतिथि हुने संचार विभाग प्रमुख श्रीराम फुटुंगेले जनाए ।

मन्थनको पहिलो चरणमा नगरमै बसोबास गर्ने विषयगत विज्ञ तथा स्थानीय अनुकरणीय काम गरेका व्यक्तित्वलाई आमन्त्रित गरिनेछ भने दोस्रो चरणमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विज्ञ एवं अनुभव बाँड्न चाहने व्यक्तिहरुलाई कार्यक्रममा निम्त्याइनेछ । मनमैजु सांस्कृतिक समाजको संचार विभागको आयोजना एवं सहजीकरणमा हुन लागेको कार्यक्रम तारकेश्वरमै पहिलो भएको आयोजकको दाबी छ ।

हालको जोखिमपूर्ण समयलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा र शारीरिक दूरी कायम राख्दै मन्थन संचालनका लागि आवश्यक प्रबन्ध मिलाइने छ । कार्यक्रममा हाललाई बढीमा १५ जनामात्र सहभागीका रुपमा उपस्थित हुन पाउनेछन् । मनमैजु सांस्कृतिक समाज २५ वर्षअघि कला, संस्कृति एवं साहित्यको उत्थानका लागि स्थापित तारकेश्वरको अग्रणी संस्था हो जसले राष्ट्रव्यापी विभिन्न कार्यक्रमहरु गरी योगदान पुर्‍याउँदै आएको छ । सामाजिक विकासको क्षेत्र पनि यो संस्थाको एउटा महत्वपूर्ण पाटो हो ।

प्रतिक्रिया दिनुहोस्