कोरोनाविरुद्धको लडाइँमा साथ दिएकोमा विपक्षीलाई केजरीवालको धन्यवाद



नयाँदिल्ली । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाविरुद्धको लडाईमा साथ दिएकोमा विपक्षीहरुलाई धन्यवाद दिएका छन् । बुधबार नयाँदिल्लीमा पत्रकारहरुसँग बोल्दै मुख्यमन्त्री केजरीवालले कोराना नियन्त्रणमा विपक्षी दलहरुको सहयोग अति महत्वपूर्ण भएको बताए ।

मुख्यमन्त्री केजरीवालले गैरसरकारी संस्था तथा समूहहरुले पनि कोरोना नियन्त्रणका लागि अफ्ठ्यारोमा परेकाहरुलाई धेरै सहयोग गरेको चर्चा गरे । कुनै कामहरु जानी नजानी गलत तरिकाले भइरहेका बेला विपक्षीहरुले औंल्याइदिने र सुधार गर्ने अवसर पाएको पनि उनले बताए ।

आफूहरुले काम गर्दा सकेसम्म जनभावना, चाहना र आवश्यकता अनुसार गर्ने प्रयास गरिरहेको र नतिजा राम्रो आएको केजरीवालको भनाई छ ।कोरोनाभाइरसका कारण दिल्लीमा कुल एक लाख १५ हजार ३४६ जना सङ्क्रमित भएकोमा १८ हजार ६६४ जना मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका छन् ।

त्यसैगरी अरु ९३ हजार २३६ जनाले कोरोनाभाइरसलाई जितेपनि तीन हजार ४४६ जनाले भने जित्न नसकेर जीवन गुमाएको मुख्यमन्त्री केजरीवालले बताए ।

प्रतिक्रिया दिनुहोस्