नेपाली भाषाका डेढ लाख शब्द समेटेर शब्दकोष



काठमाडौं असार ३१ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोष’ प्रकाशनको तयारीमा जुटेको छ ।

बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली बृहत् शब्द कोषले नसमेटिएका शब्द समेटेर उक्त शब्दकोष प्रकाशनको तयारी गरिरहेको जानकारी दिए । उनका अनुसार उक्त शब्दकोषमा एक लाख ५० हजार नेपाली भाषाका शब्द रहने छ । अहिलेसम्म एक लाख २५ हजार शब्द सङ्कलन भइसकेको छ ।

उक्त शब्दकोषमा कोरोना भाइरस (कोभिड–१९)सँग सम्बन्धित करिब १५ वटा शब्दसमेत रहेका छन् । सो शब्दकोष यही वर्ष प्रकाशन गर्ने प्रतिष्ठानको तयारी छ । शब्द कोषलाई मोबाइल एपमा समेत राखिने उनले बताए । यसैगरी प्रतिष्ठानले प्रज्ञा शैक्षणिक व्याकरणको प्रकाशनको समेत तयारी गरेको छ । सबै तहका विद्यार्थीलाई उपयोगी हुने खालको व्याकरण तयारी गरिएको प्रतिष्ठानका कुलपति उप्रेतीले जानकारी दिए ।

यसैगरी ‘नेपाली बृहत् शब्दकोष’ लाई युगानुकूल प्रविधिमुखी बनाउन लागि ‘मोबाइल एप’ राखिएको छ । चौसाठी हजार शब्द रहेको उक्त एप एक पटक इन्टरनेटबाट डाउनलोड गरिसकेपछि इन्टरनेट नभएको अवस्थामा पनि सजिलै मोबाइलबाट हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्