भारतमा कपाल मुण्डन गरी दुर्व्यहार गरेको भनिएको ब्यक्ति नेपाली नभएको पुष्टि



काठमाडौ,साउन ४ । भारतमा कपाल मुण्डन गरी दुर्ववहार गरेको भनिएको ब्यक्ति नेपाली नभएको पुष्टि भएको छ । यसअघि सामाजिक सन्जालमा भारतको बनारसस्थित विश्व हिन्दु सेनाले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नारा लगाउन दबाब दिदै एक ब्यक्तिको कपाल मुण्डन गरेको भिडियो एकाएक भाईरल भएको थियो । कतिपयले ती ब्यक्ति नेपाली भएको भनेर ठोकुवा गरेका थिए। बाराणसी प्रहरीले ती ब्यक्ति भारतीय नागरिक नै भएको र पैसा लिएर ती ब्यक्तिले अभिनय गरेको पुष्टि गरेको छ।

अयोध्याबारे प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको विरोध स्वरुप बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेको भन्दै विश्व हिन्दु सेनाले भिडियो सामाजिक सञ्जालमा हालेको बताइदै आएको थियो । भिडियोमा केस मुण्डन गरिएका व्यक्तिलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दाबादको नारा लगाउन लगाइएको समेत देखिन्छ ।
उक्त भिडियो सामाजीक सन्जालमा भाइरल हुनुका साथै चौतर्फि बिरोधपछि भिडियो फुटेजकै आधारमा प्रहरीले ६ जना मानिसलाई पक्राउ गरेको थियो भने विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआरमा मुद्दा दायर भएको थियो ।

नयाँदिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरी घटनामा संलग्नलाई सख्त कारवाहीको माग समेत गरेका थिए। भारतीय प्रहरीले त्यसलगत्तै पिडित भनिएका व्याक्तिको खोजी तिब्र पारेको थियो । सोहि क्रममा शनिबार बाराणसी प्रहरीले उनलाई भेटाएको छ । र, पीडित भनिएका व्यक्ति नेपाली नभई भारतीय नागरिक नै भएको बताएको छ ।

घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिसकेको भन्दै उसले भनेको छ, ‘भिडियोमा देखाइएको व्यक्ति भारतीय नागरिक हुन् । उनको जन्म बाराणसीमा भएको थियो र परिवारका सदस्य सरकारी सेवामा छन् ।’ उनले भिडियो बनाए वापत पैसा लिएर यो हर्कत गरेको प्रहरीको दाबी छ ।

यद्यपि ती व्यक्ति नेपाली हुन् कि हैनन् भनी पहिचान गर्ने काममा स्थानीय नेपाली समुदायका अगुवाहरु पनि लागिपरेको बताइएको छ । कतिपयले उनलाई अवकाशप्राप्त गोर्खा सैनिक भएको दावी गरेका छन् । केहिले भने ती नेपाली मूलको भारतीय  भएको अनुमान गरेका छन् ।

प्रहरीले घटनामा संलग्नहरुलाई कडा कारवाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्