विमोचन भयो नाछिरिङ राई भाषाको पाठ्यपुस्तक



काठमाडौं । विद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्नका लागि कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ ।

किराँत रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिले तयार पारेको पाठ्यपुस्तक शनिबार साखामकै केन्द्रीय कार्यालय नारायणचोक कपनमा विमोचन गरिएको हो ।

पूर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गरिरहेका नाछिरिङ राई भाषाको पाठ्यपुस्तक नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती, किराँत राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, किराँत राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राई, परिषद्का सदस्य सचिव एवं भाषाविद् डा तारामणि राई, लोहोरुङ राई समाजका अध्यक्ष चित्रबहादुर लोहरुङलगायतले संयुक्तरुपमा विमोचन गरे । खोटाङ, सोलुखुम्बु, उदयपुरलगायत जिल्लाका नाछिरिङ राईको बाहुल्य रहेको विद्यालयमा पठनपाठन गर्न पाठ्यपुस्तक तयार पारिएको साखामका केन्द्रीय उपाध्यक्ष कमलकुमारी राईले बताइन् ।

विसं २०७६ जेठ १२ गते विमोचन गरिएको कक्षा १ को पाठ्यपुस्तकको परिमार्जित संस्करणलाई समेत कक्षा २ को पाठ्यपुस्तकसँगै विमोचन गरिएको छ । विसं २०७६ देखि सोलुखुम्बुको सोताङ गाउँपालिकाका पाँच विद्यालय र खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको पाँच विद्यालयमा नाछिरिङ भाषाको पठनपाठन शुरु गरिएको छ ।

विसं २०६८ सालको जनगणनानुसार पूर्वी नेपालमा नाछिरिङ भाषा बोल्न जान्ने जनसङ्ख्या १० हजार ४१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्