बीपी कोइरालाको ३८औं स्मृति दिवस, कांग्रेसका कुन नेताले के भने ?



देउवा भन्छन्- बीपीको समाजवादको बाटोमा कांग्रेस सदैव क्रियाशील रहने छ
काठमाडौं साउन ५ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा कांग्रेस सदैव क्रियाशील रहने उल्लेख गरेका छन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ३८औं स्मृति दिवसका अवसरमा मंगलबार उनले बीपीप्रति श्रद्धासुमन व्यक्त गर्दै लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा कांग्रेस अग्रसर रहने बताएका छन् ।

यसैगरी कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले बीपीले नैतिकता बिनाको राजनीतिले कहींकतै पुर्‍याउँदैन भन्ने गरेको स्मरण गर्दै राजनीतिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता भएको उल्लेख गरेका छन् । उनले राष्ट्रियता र प्रजातन्त्र एक अर्काका पूरक भएको र राष्ट्र हित चाहने शक्ति एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा बीपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भीरताका साथ अघि बढ्नु आजको आवश्यकता हो भनेका छन् ।

नेता धनराज गुरुङले बीपीले तत्कालीन मन्त्रीहरुको तलब भत्ता घटाएको भन्दै पछिल्ला पुस्ताका राजनीति नेतृत्वलाई व्यंग्य गरेका छन् ।

नेता गुरुङले फेसबुमा लेखेका छन्, ‘ ३८ औं बीपी स्मृति दिवसमा बीपीलाई संझिदा :
२०१६ सालमा विपी प्र.म.हुँदा हामी गरीब जनताका प्रतिनिधि हौं त्यसैले धेरै तलबभत्ता खानु हुँदैन भनेर प्र.म.को तलब २५००/-बाट १५००/- र मन्त्रीहरुको तलब १५००/- बाट १०००/- मा झार्नु भएको थियो। अहिलेका नेताहरुलाई तलबभत्ताले नपुगेर भ्रष्टाचार गर्छन् ।’

बीपी राजनेता, कथाकार, उपन्यासकारका साथै कला साहित्य र सङ्गीतमा समेत लगाव भएको बहुआयामिक व्यक्तित्वका धनी थिए । उनले सदैव आफूभन्दा पार्टी, पार्टीभन्दा देशलाई महत्व दिने संस्कारको विकास गरेका थिए ।

कांग्रेसले मंगलबार देशैभर विभिन्न कार्यक्रम गरी बिपीको ३८औं स्मृति दिवस मनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्