कलाकार कल्याणकारी कोषको नवनिर्वाचित नेतृत्वलाई पोखरामा सम्मान



कास्की साउन १३ । लोकदोहोरी कलाकारहरुको कल्याणका लागि, दुःख, समस्यामा तत्काल सहयोग गर्ने उद्धेश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय समितिले स्थापना गरेको कलाकार कल्याणकारी कोषको नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, सदस्यहरु पोखरामा सम्मानित भएका छन् ।

कोषको नेतृत्वमा पोखरेलीहरु अध्यक्षमा वरिष्ठ लोकदोहोरी गायक प्राज्ञ प्रजापती पराजुली, उपाध्यक्षमा वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने र सदस्यमा वरिष्ठ लोकदोहोरी गायिका पार्वती जिसी मनोनयन भएकोमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समिति र कास्की जिल्ला समितिले शुक्रबार एक कार्यक्रमबीच बधाई तथा सम्मान दिएका हुन् । नवनिर्वाचित अध्यक्ष पराजुली, उपाध्यक्ष न्यौपाने र सदस्य जिसीलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा विष्ट, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ र कास्की जिल्ला समितिका अध्यक्ष टोप क्षेत्रीले सम्मानपत्र, दोसल्ला, खादा, बुके, अबिरबाट कार्यकालको पुर्ण सफलताको शुभकामनासहित बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।
प्रमुख अतिथि विष्टले कोषका नवनिर्वाचित नेतृत्वलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहज वातावरणमा कोष संलकन र असहज अवस्थामा कलाकारहरुको दुःख पीडामा सहयोग गर्नुपर्ने बताउनुभयो।उहाँले आफ्नो तर्फबाट पनि कल्याणकारी कोषमा सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा कोषका नवनिर्वाचित अध्यक्ष प्राज्ञ प्रजापती पराजुलीले कलाकारको कल्याणका लागि निति बनाएर कोष व्यवस्थित गर्ने बताए ।

कार्यक्रमका सभाध्यक्ष राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले कलाकार कल्याणकारी कोषको महत्व, गण्डकी प्रदेश समितिका गतिविधि जानकारी दिएका थिए । उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका तर्फबाट अध्यक्ष सुरेन्द्र गुरुङले कल्याणकारी कोषका लागि नवनिर्वाचित कलाकार कल्याणकारी कोषका अध्यक्ष प्रजापति पराजुलीलाई १ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्