अर्बौं डलरको भ्रष्टाचार मुद्दामा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब दोषी



क्वालालम्पुर साउन १३ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकमाथिको अर्बौं डलरको भ्रष्टाचार मुद्दामा अदालतले दोषी ठहर गरेको छ । नजिबमाथि मलेसियाको वान–मलेसिया डेभलपमेन्ट बरहाड (वान–एमडीबी) नामको परियोजनामा अर्बौं भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । अदालतको उक्त फैसलासँगै नजिबले वर्षौं जेलमा बिताउनु पर्नेछ ।

मलेसियाको यस लगानी परियोजनाबाट भएका रियल स्टेटदेखि बहुमूल्य कलासामग्रीको खरिदमा अर्बौं डलर घोटाला भएको अदालतले ठहर गरेको छ । उक्त भ्रष्टाचारकाण्ड सार्वजनिक भएसँगै नजिबको सत्तारुढ पार्टी सन् २०१८ को आमचुनावमा पराजित भएको थियो । चुनावमा सत्तारुढ दल पराजित भएसँगै त्यसका दर्जनौं नेता गिरफ्तारीमा परेका थिए ।

नजिबमाथिको पछिल्लो फैसलाले मलेसियाको कानुनी शासनको परीक्षण पनि गरेको छ । तर मलेसियाको राजनीतिक वृत्तमा अस्थिरता आएसँगै अहिले नजिबको पार्टी पुनः गठबन्धन सरकारमा सामेल भएको छ । नजिबले वान–एमडीबीसँग सम्बन्धित धेरैवटा मुद्दा खेपिसक्नु भएको छ । तीमध्ये एउटा मुद्दा करिब १६ महिनाअघि शुरु भएको थियो । यो मुद्दा मुख्यरुपमा करिब ९९ लाख अमेरिकी डलर वान–एमडीबीबाट नजिबको व्यक्तिगत बैंक खातामा जम्मा भएको विषयसँग सम्बन्धित छ ।

तर ६७ वर्षीय नजिबले आफूले कुनै गलत नगरेको लगातार दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्