प्रधानमन्त्रीले नै फोन गरेर सुटुक्क आउनुस् भन्‍नु भयो तर म उहाँले भनेझैं सुटुक्क गएको होइन : नेपाल



काठमाडौं साउन १४ । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूले अहिले कुनै पनि पदका लागि बार्गेनिङ नगरेको प्रस्ट पारेका छन् । उनले पार्टीलाई विधि र पद्धतिबाट चलाउन आफू कटिबद्ध रहेको र अहिलेको छलफल र परामर्श पनि त्यसैका लागि केन्द्रित रहेको बताए ।

नेता नेपालले आफू र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच फाटो ल्याउन विभिन्न हल्ला चलाइएको बताएका छन् । ‘९ गते राति मलाई प्रधानमन्त्रीले नै फोन गरेर सुटुक्क आउनुस् भनेर बोलाउनुभएको थियो तर म उहाँले भनेझैं सुटुक्क गएको होइन,’ उनले भने, ‘त्यो बैठकमा उहाँलाई मैले ०७५ जेठ २ को सहमतिअनुसार सरकार छाड्नुस्, प्रचण्डजीलाई प्रधानमन्त्री बनाऔं भनें, उहाँले सम्भव छैन भन्नुभयो । पार्टी अध्यक्षबाट छोड्नुस् भनें, त्यो पनि सम्भव छैन भन्नुभयो । मैले तपाईंले भनेझैं मंसिरमा पार्टी महाधिवेशन गर्न सम्भव छैन भनेको हुँ तर मलाई अध्यक्ष बनाउन ग्यारेन्टी गर्नुस् भनेको हैन ।’

यसअघि ओली पक्षीय नेताहरूले दाहाल र नेपालबीच भएको भेटमा महाधिवेशनबाट नेपाललाई अध्यक्ष बनाउन ओलीले सघाउने र ओलीलाई पाँचै वर्ष प्रधानमन्त्रीमा नेपालले सघाउने विषयमा छलफल भएको बताएका थिए । तर नेपालका अनुसार उक्त बैठकमा पनि उनले मंसिरमा महाधिवेशन सम्भव नहुने तर्क राखेका थिए ।

‘म मेरो प्रस्तावमा बालुवाटार गएको हैन, केपी ओली आफैंले कसैलाई नभन्नु भन्दै बोलाउनुभएको थियो, मैले त्यतिखेरै षड्यन्त्रको गन्ध पाइसकेपछि प्रचण्ड कमरेडलाई मलाई बोलाउनुभएको छ, म जाँदै छु भनिदिएँ,’ नेपालले भने, ‘भोलिपल्ट उहाँले प्रचण्ड नजिकको एक जनालाई तपाईं माधव नेपाललाई किन विश्वास गर्नुहुन्छ ? उहाँ सुटुक्क यहाँ आउनुभएको थियो भन्नुभएछ । म बुर्का र मास्क लगाएर गएको होइन, सुटुक्कै गएको पनि होइन ।’

ओली पक्षीय नेताहरूले ओली प्रधानमन्त्री रहँदासम्म महाधिवेशन हुन नदिने भनिरहेको उनले बताए ।

यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्