भारतमा संक्रमितको संख्या २० लाख नाघ्यो, अमेरिकामा ४८ लाख



नयाँदिल्ली साउन २३ । पछिल्लो २४ घन्टामा मात्रै थप ६२ हजार १७० जनामा कोरोना पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २० लाख नाघेको छ । मृत्यु हुनेको संख्या भने भारतमा ४० हजार ७०० पुगेको बीबीसीले लेखेको छ ।

भारतमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या २० लाख २५ हजार ४०९ पुगेको छ । भारतमा पछिल्लो २० दिनमा संक्रमितको संख्या ठ्याक्कै दोब्बरले बढेको छ । जुलाई २८ यताको ९ दिनमामात्रै थप ५ लाख जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला १० दिनमा भारतमा प्रत्येक दिन ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।

विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा शुक्रबार बिहानसम्म ४८ लाख ७६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब एक लाख ६० हजार नाघेको छ भने निको हुनेको संख्या करिब १६ लाख रहेको छ ।

शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ९८ लाख नाघेको छ । कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख १२ हजार भन्दा बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्