लकडाउन क्याम्पिङ २०२० : ब्रेकन, वेल्स धम्पुसको मित



– कृष्ण गुरुङ

छेक्यो छेक्यो… का चर्चित गायक रविन श्रेष्ठ, राजु गुरुङ र जीवन भाइको म्युजिकल प्रस्तुति लोभलाग्दो थियो । बीच बीचम़ा रमा दिदीको सुमधुर गीत अनि भिम बानियाँ दाइको लोर्के डान्स बिर्सन नसकिने खालको थियो ।

जशु गुरुङ, मधु गुरुङ र पूर्णिमा गुरुङको नेतृत्व अनि पोखरेली मञ्‍चका अध्यक्ष मानप्रसाद गुरुङको संयोजनको बेलायतको ब्रेकन क्याम्पिङ म र मेरो परिवारको लागि अविष्मरणीय भयो ।

जेन ३० महिनाको, अस्विन ११ वर्ष, म र सिर्जनालाइ जाउँ कि नजाउँ जस्तो भएको थियो । सबैले बच्चाहरुले झन् एन्जोय गर्छ जाम भनेपछि ५ दिनको लागि टेन्ट, विस्तारा, कपडा आदि इत्यादि प्याक गरेर ३० जुलाईमा लागियो वेल्स । डेढ घन्टाको यात्रापछि स्वीन्डन सहरमा बहिनी मनिषाको मीठो आतिथ्य स्वीकार्दै मीठो लन्चपछि पुन: गाडी वेल्सतिर ।

इंग्ल्यान्ड र वेल्सबीचको त्यो समुन्द्रको विशाल पुलमाथि गाडी चलाउँदाको मज्जानै अर्कै । अनि छोरा अस्विनले पनि म पनि इन्जिनियर बन्छुभन्दा झन् खुसी लाग्यो ।

बीच बीचमा प्रकृतिसँग खेल्दै छोराहरुसँग आइसक्रिम खाँदै ३ घन्टापछि त्यो सुन्दर ठाउँ नेपालको धम्पुस गाउँको मित ब्रेकन पुगियो । बिसोप मेन्डोवको बिशाल फाँटमा क्यारवान र टेन्टहरुको लाइन थियो । शान्तिको झन्डाहरु ठूलो मेसको टेन्टको छेउमा मान दाइ, पूर्णिमा दिदी अनि जशु दिदी देखेपछि गाडी त्यहीं रोकेँ अनि मैले पनि मान दाइको सहयोग लिएर ५ दिनको घर बनाएँ ।

अस्विन र जेन, जशु दिदीको Leo सँग खेल्न सुरु। करिब १६-१७ जना पहिलो दिनमा नै उपस्थित अनि प्रत्येक वर्षजस्तै स्थानीय मेजर खुशीमान गुरुङ अनि मञ्जु गुरुङको आतिथ्यम़ा सबैजना करिब ७:३० बजे उहाँहरुको घरमा पुग्यौं । करिब ८ वर्षदेखि नै ब्रेकनमा उहाँहरुको बसाइ रहेछ ।

तमु प्ये ल्हु को चेयरम्यान, धम्पुस र ब्रेकन मितेरीको कल्पनाकार, गुर्खा पथ ब्रेकनको संयोजन अनि आफ्नै व्यापार गरी छोरा छोरी अनि श्रीमतीको साथमा ब्रेकनजस्तो सुन्दर गाउँमा भव्यताको साथमा बस्नु भएको रहेछ, जुन लोभलाग्दो लाग्यो । मेजर खुशीमान अनि मञ्जु दिदीको आतिथ्यपछि ११ बजेतिर क्याम्प आएर धेरै पछि आगोको धुनी ताप्दै गीत गाइयो ।

दोस्रो दिन :
दोस्रो दिन हाम्रो परिवारका लागि चुनौती अनि अविष्मरणीय रह्यो, ३० महिनाका छोरा जेनलाई हिँडाउँदै अनि बोक्दै वेल्सको अग्लो डाँडा ८८६ मिटरको Pan Y Fan चुचुरो (जहाँ हाइकफर नेपाल हुने गर्छ) मा करिब ३ घन्टामा चढेर आइयो । संसार जितेको अनुभूति भयो । माथिको दृश्य मनमोहक थियो जोकोहीलाई कवि बनाइदिने खालका ।

वेल्सको हरेक बाटोमा गाडी चलाउँदा देखिने दृश्यले सायद नेपालमा पनि यसरी विकास गरे के कम जस्तो पनि लाग्यो । ब्रेकनमा छिर्दा धम्पुसको मितेरी गाउँमा स्वागत लेखेको देख्दा खुशीको सीमा नै रहेन अनि मेजर खुशीमान दाइलाई अन्तरहृदयबाट नमन गरेँ । बेलुकी फेरि धुनी बालेर नेपालकै चर्चित गायक रविन श्रेष्ठसँग भाइ जीवनको गिटारको साथ आहा ! स्वर्गीय आनन्द ।

अनि हाम्रो क्याम्पिङ टिममा विशेष धेरै सहयोग गर्ने स्थानीय नन्दजी अनि उहाँको नम्बरी भाइ ईश्वरले सबै काम सजिलो बनाइदिने कला अनि मीठोमीठो खानाका लागि सम्पूर्ण दिदीबहिनीहरु धेरै धेरै धन्यवादको पात्र । त्यो रात मीठो निद्रा लाग्यो ।

तेस्रो दिन :
तात्तातो सेलरोटीको खाजापछि नन्द भाइको नेतृत्वमा Andrew लगायत ८ जना फर्ममा २ भेँडा लिन जानु भयो भने हाम्रो परिवार र हरिकाजी दाइको परिवार १५ मिनेटको यात्रापछि वेल्सको फेवाताल गइयो । निक्कै भीड थियो

ब्यस्त बाटोको छेउमा करिब १५ मिनेट मेडिटेसन गर्दाको अनुभव अनि त्यसबाट धेरै कुरा सिकेको हरि दाइसँगको छलफलमा कुरा साटासाट गरियो । त्यसपछि करिब २ घन्टा आफैंले जानी नजानी डुंगा चलाइयो । बेलुका अन्ताक्षरीसँगै रमाइलो गरियो, आज म अलि थाकेकोले चाँडै नै सुतेँ ।

चौथो दिन :
Andrew को स्पेसल स्क्र्यम्बल एगसँग ब्रेड, तरुल अनि लोकल बोइल अण्डाको खाजापछि सबै जना लागियो निथको प्रसिद्ध झरनामा खेल्न ।
करिब ४५ मिनेट रमणीय यात्रापछि झरना नै झरनाको पहाडमा पुगियो, करिब ३ घन्टामा सबै झरना घुम्‍न सकिने कुरा थाहा भयो सिर्जना र मेरो सल्लाहचाहिँ एउटामा जाने अनि त्यहीं पिकनिक गरेर बस्ने । करिब १५ मिनेटको हिँडाईमा पहिलो ठूलो झरनामा पुगियो । चिप्लो अनि अप्ठेरो भए पनि झरनाको मुनि नै गएर फोटो खिचियो ।

सबै जना अरु झरनातिर लाग्नु भयो हाम्रो परिवारचाहिँ झरना माथिको खोलामा मज्जाले पौडी खेल्दै घाम ताप्दै बसियो । एकदमै चिसोपानी भए पनि पछि त शरीर नै तात्तिएर त्यत्ति जाडो भएन । सानो छोरा जेन त झन् जाडोले कामे पनि पानी छोड्न नै नखोज्ने । सम्पूर्ण Materials कुराहरु बिर्सेर प्रकृतिसँग खेल्दाको मज्जा नै अर्कै आज अनुभूति गरियो ।

फर्किँदा बीच बीचमा रोकिँदै फोटो खिज्दै, आइसक्रिम खाँदै, भेँडासँग जिस्किँदै अनि प्यानारोमिक दृश्यलाई हेर्दै, अस्विनको ५ बजे स्विमिङ बुक गरेको समयमा नै आइपुगियो । थकित म अनि अस्विन र जेन जो स्विमिङ खेल्ने धोको । बल्ल बल्ल जाडो हुँदा पनि स्विमिङ खेलियो ।

आज विशेष पाहुना मेजर खुशीमान, मञ्जु दिदी, राजु र परिवारलाई मानप्रसाद दाइले विशेष धन्यवाद दिँदै उहाँलाई हार्दिक स्वागत गर्नुभयो भने मेजर खुशीमान दाइले ब्रेकनमा स्वागत गर्न पाउँदा उहाँ र परिवार आभार भएको कुरा भन्नुभयो । फेरि-फेरि ब्रेकन आउने निम्तो पनि दिनुभयो ।

छेक्यो छेक्यो… का चर्चित गायक रविन श्रेष्ठ, राजु गुरुङ र जीवन भाइको म्युजिकल प्रस्तुति लोभलाग्दो थियो । बीच बीचम़ा रमा दिदीको सुमधुर गीत अनि भिम बानियाँ दाइको लोर्के डान्स बिर्सन नसकिने खालको थियो । यो सबै दृश्यहरुलाई मधुकर गुरुङ दाइले आफ्नो क्यामेरामा कैद गर्दै सोल्टी प्रोडक्सनबाट प्रस्तुत गर्ने कुरा पनि गर्नु भएको थियो ।

पाँचौ दिन :
४ दिनको रमाइलो बसाई अनि नयाँ-नयाँ साथीहरुलाई बाइ भन्दै छुट्टिँदा नरमाइलो लागे पनि फेरि भेट्ने बाचा गर्दै जेनको कार पछाडि सिटबाट बाइ भन्दै हात हल्लाएको दृश्य मर्माहित थियो । करिब ११ बजेतिर निस्किएका हामी आरामको साथमा रोक्दै, खाजा खाँदै ४ बजेतिर स्वीट होम आइपुगियो ।
धन्यवाद सम्पूर्ण आत्मीय lockdown २०२० Brecon टिमलाई । फेरि भेटौंला ।

(लेखक बेलायत निवासी हुन्)

प्रतिक्रिया दिनुहोस्