एयर इन्डियाको विमान दुर्घटनाग्रस्त, कम्तीमा १६ को मृत्यु, ५० जनाभन्दा बढी घाइते



नयाँदिल्ली साउन २३ । १९१ सवार एयर इन्डियाको विमान केरलाको कालिकट विमानस्थलमा शुक्रबार साँझ दुर्घटनाग्रस्त हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । त्यस्तै कम्तीमा ५० जना घाइते भएको र तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् । ३५ घाइतेलाई भने अस्पताल पुर्‍याइसकिएको छ ।

दुबईबाट आएको एयर इन्डियाको आईएक्स-१३४४ बोइङ ७३७ विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो । तर विमान कम्पनीले भने यसको आधिकारिक पुष्टि गरेको छैन ।

विमान धावनमार्गबाट चिप्लिएर ठोक्किँदा दुई टुक्रा भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमान दुई टुक्रा भए पनि आगलागी भने नभएको कम्पनीले जनाएको छ ।

बीबीसीका अनुसार विमानमा ७ चालक दलका सदस्यसहित १९१ जना सवार थिए । तीमध्ये १० जना बालबालिका थिए ।

प्रतिक्रिया दिनुहोस्