भारतमा विमान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो



नयाँ दिल्ली साउन २४ । भारतमा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको संख्या १८ पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुर्घटनामा परेर अरु कैयौँ यात्रु घाइते पनि भएका छन् ।

एयर इन्डिया एक्सप्रेसको जहाज विमानस्थलमै दुर्घटनामा परेको मलापुरम जिल्लाका जिल्ला अधिकारी के गोपाल कृष्णले बताए । सुरुमा १७ जनाको मृत्युको खबर आए पनि घाइते मध्ये थप एक जनाको मृत्यु भएपछि कुल मृतकको संख्या १८ पुगेको हो । मृतक मध्ये एक जना बाहेक अन्य सवैको शव चिन्न नसकिनेगरी जलेर नष्ट भएको पनि घटनास्थलमा पुगेकाहरुले जनाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सबै मृतकको सनाखत भइसकेको छ ।

घटनामा परी विमान चालक दीपक साथे र उनका सह चालक अखिलेश कुमारको पनि मृत्यु भएको छ । विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए । घाइतेहरूलाई उपचारका लागि क्यालिकट तथा मलापुरममा रहेका अस्पतालहरूमा पुर्‍याइएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार घाइतेहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाभाइरसको महामारी फैलिएपछि संयुक्त अरब इमिरेट्स (यूएई)मा अलपत्र परेका भारतीय नागरिकहरू स्वदेश ल्याउदै गरेको विमान दुर्घटनामा परेको हो । युएइको दुवईबाट शुक्रबार राती भारत आउँदै गरेको विमान अवतरण गर्ने बेलामा अत्यधिक बर्षाका कारण धावनमार्ग चिप्लो भएकाले धावनमार्गमा चिप्लीएर दुर्घटना भएको प्रारम्भीक विवरण छ ।

प्रतिक्रिया दिनुहोस्