नृत्य निर्देशक संघ काठमाडौं जिल्ला समितिको सकियो प्रथम साधारणसभा



काठमाडौं साउन २४ । नृत्य निर्देशक संघ नेपालको चौंथो स्थापना दिवस तथा काठमाडौं जिल्ला समितिको प्रथम साधारणसभा सम्पन्‍न भएको छ ।

कपनस्थित नमस्ते डान्स एकेडेमीमा शनिबार संघको स्थापना दिवस तथा प्रथम साधारणसभा सम्पन्न भएको हो ।

नृत्य निर्देशक संघ काठमाडौं जिल्ला समिति अध्यक्ष बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा केन्द्रीय पदाधिकारीहरु अध्यक्ष भुवन श्रेष्ठ, महासचिव नृपध्वज खत्री, सहकोषाध्यक्ष केशव कोइराला उपस्थित थिए । त्यसैगरी अतिथिको रुपमा नृत्य निर्देशक संघ नेपालका आजीवन सदस्य प्रेमलाल श्रेष्ठ र भक्तपुर शाखाका सचिव चुडामणि फुयाल सहभागी थिए ।

बिहान ८ बजे सुरु भएको कार्यक्रममा सम्पूर्ण अतिथिहरुले आआफ्ना मन्तव्य राखेका थिए । करिब २ घन्टासम्म चलेको कार्यक्रममा केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले क्षेत्रस्तरमै राम्रो काम गरेकोले उच्च मूल्याङ्कन गरी जिल्ला समिति दिएको उल्लेख गर्दै उनले भोलिका दिनमा आफूरहरुको आशालाई निराशा नबनाउनेमा विश्वस्त रहेको धारणा राखे । केन्द्रीय महसचिव नृपध्वोज खत्री यस कार्यसमितिले अरुलेभन्दा बिल्कुल नै नयाँ काम गरेको भन्दै खुसी ब्यक्त गरे । केन्द्रीय सहकोषाध्यक्ष केशव कोइरालाले यस कार्यसमितिका लागि सधैं आफू अभिभावकको रुपमा रहेको र आवश्यक परेको जुनसुकै समयमा सहयोग गर्न तत्पर रहेको आश्वासन दिए ।

संघका आजीवन सदस्य प्रेमलाल श्रेष्ठले संघले सधैं नृत्य निर्देशकहरुको हकहितका लागि काम गरेको भन्दै प्रशंसा गरे । त्यस्तै भक्तपुर शाखाका अध्यक्ष चुडामणि फुयाले राम्रो काम गरिरहेको यस समितिले अझै राम्रो काम गर्दै जानु भनी शुभकामना दिएका थिए ।

कार्यक्रममा नृत्य निर्देशक संघ काठमाडौं जिल्ला समितिकी कोषाध्यक्ष शर्मिला तामाङले वर्षभरिको आय-व्यय प्रस्तुत गरेकी थिइन् भने सचिव देवराज गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा साधारण सदस्यसहित विभिन्न शाखा नेतृत्व तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रम समापन गर्दै नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला कार्यसमिति अध्यक्ष बुद्ध लामाले वर्षभरिको कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । साथै भोलिका दिनमा अझै साथ र सहयोगको अपेक्षा राखेको बताए । कार्यक्रम नृत्य निर्देशक संघ नेपाल काठमाडौं समितिका सचिव देवराज गुरुङले सञ्‍चालन गरेका थिए ।

फोटोग्राफर : सुमन तमाङ


प्रतिक्रिया दिनुहोस्