नेपालमा २६ औं विश्‍व आदिवासी दिवस मनाइँदै, कुन ठाउँमा के कार्यक्रम हुँदैछन्, [सूचीसहित]



फाइल तस्बिर

काठमाडौं साउन २५ । नेपालमा २६ औं विश्‍व आदिवासी दिवस आइतबार विभिन्‍न कार्यक्रम गरी मनाइँदै छ । विगतमा सडक, खुला ठाउँ र पार्टी प्यालेसमा मनाइने गरेको आदिवासी दिवस यसपटक भने कोरोना भाइरसको जोखिमका कारण भर्चुअल संवाद लगायत विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् ।

दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजातिका अभियन्ता लगायतसँगको भर्चुअल संवाद आयोजना गरेको छ । महासंघका अनुसार संवाद कार्यक्रममा प्राडा नोवलकिशोर राई, सुरेश आलेमगर, बालकृष्ण माबुहाङ, मल्ल के सुन्दर, गोकुल घर्तीमगर, दिलमान पाख्रिन, बमकुमारी बुढामगर, चन्द्रविक्रम राई, कुमार लिङ्देन लगायत आदिवासी जनजातीय संगठनहरुका प्रतिनिधिमूलक नेताहरु सहभागी हुनेछन् ।

महासंघले दिवसको अवसरमा ‘पहिचानसहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनको आन्दोलन हाम्रो साझा बहस, स्वनिर्णित विकास र महामारीमा बाँच्‍ने र बचाउने पक्षमा २६ औं विश्‍व आदिवासी दिवस’ नारा तय गरेको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष ९ अगस्टमा संसारभर विश्व आदिवासी दिवस मनाइने प्रचलन छ । यो संसारभरका ३७ करोड आदिवासीहरुको साझा पर्व हो । सन् १९९४ बाट संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।

विश्वका ९० देशमा बसोवास गर्ने आदिवासीको कुल जनसंख्या झन्डै ३७ करोड अर्थात् पाँच प्रतिशत रहेको अनुमान छ। तर, संसारका सबैभन्दा गरिब जनसंख्यामा तिनको हिस्सा १५ प्रतिशत छ । पृथ्वीमा बोलिने कुल सात हजार भाषामध्ये आदिवासीले नै धेरै भाषा बोल्छन् । तिनले पाँच हजार विभिन्न सभ्यताको पनि प्रतिबिम्बित गर्छन् । आदिवासी जनता विशिष्ट संस्कृति अभ्यास गर्छन् र त्यसलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्छन् । तिनको संस्कृतिले मानिस र वातावरणलाई जोड्ने बलियो भूमिका पनि खेल्छन् । अलग–अलग आदिवासीबीच उल्लेख्य सांस्कृतिक भिन्नता देखिन्छ । तर, त्यसको बाबजुद, विश्वभरिका आदिवासी जनताबीच अभ्यासमा रहेका संस्कृतिको पहिचान र संरक्षण गर्नु साझा समस्या रहँदै आएको छ ।

आदिवासीले वर्षौंदेखि तिनको पहिचान, जीवनशैली र ती बसोवास गर्दै आएको परम्परागत जमिन, भूगोल र प्राकृतिक स्रोतमाथिको दाबीलाई अरू मानिसले पनि स्विकारून् भन्ने चाहेका छन् । तर, इतिहास हेर्ने हो भने तिनको अधिकार सधैँ हनन् भएका छन् । आज आदिवासी सम्भवत: विश्वका सबैभन्दा सुविधाहीन र जोखिमपूर्ण समुदाय हुन् । अहिले आएर विश्व समुदायले तिनको अधिकार, विशिष्ट संस्कृति र जीवनशैलीलाई संरक्षण गर्न विशेष कदम चाल्नुपर्ने आवश्यकता महसुस गरेका छन् ।

खतरामा रहेका बहुसंख्यक भाषा आदिवासी जनताले बोल्छन् । एक अनुमानअनुसार, प्रत्येक दुई हप्तामा एउटा आदिवासी भाषा लोप हुन्छ । भाषा लोप हुँदा त्यससँग जोडिएको आदिवासी संस्कृति र ज्ञान प्रणाली जोखिममा पर्छ । यही कारणले यो अन्तर्राष्ट्रिय दिवसको लक्ष्य आदिवासी भाषाको डरलाग्दो रूपमा भइरहेको विनाशप्रति ध्यानाकर्षण गराउनु हो । साथमा यसको संरक्षण, पुन: ताजगी र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा यस्ता भाषाको प्रवद्र्धनप्रति ध्यान तान्नु पनि यसको अर्को उद्देश्य देखिन्छन् । आदिवासीले वर्षौंदेखि तिनको पहिचान, जीवनशैली र ती बसोवास गर्दै आएको परम्परागत जमिन, भूगोल र प्राकृतिक स्रोतमाथिको दाबीलाई अरू मानिसले पनि स्विकारून् भन्ने चाहेका छन् ।

आदिवासी भाषाभाषीको अन्तर्राष्ट्रिय दिवस : भाषाले सबै मानिसको दैनिक जीवनमा अत्यन्त महत्व भूमिका निभाउँछन् । यसले मानव–अधिकारको संरक्षण, शान्ति निर्माण र दिगो विकास क्षेत्रमा महत्वपूर्ण हुन आउँछ । तथापि, तिनको ठूलो मूल्यका बाबजुद, विश्वभरिका भाषाभाषी डरलाग्दो दरमा लोप हुने क्रम जारी छ । यसमा कैयन् कारण जिम्मेवार छन् । लोप हुनेमध्ये धेरै आदिवासी भाषा छन् ।

आदिवासीको भाषा आदिवासी मुद्दाको बृहत् क्षेत्रमा ममहत्वपूर्ण तत्व हो । यसमा पनि शिक्षा, वैज्ञानिक तथा प्राविधिक विकास, पर्यावरण र वातावरण, अभिव्यक्तिको स्वतन्त्रता, रोजगारी र सामाजिक समावेशिता पर्छन् । यी विषयलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघको महासभाले ‘आदिवासी जनताको अधिकार’बारे एउटा प्रस्ताव अंगिकार गरेको थियो । त्यसले नै सन् २०१९ लाई आदिवासी भाषाभाषीको अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको थियो ।

किन अन्तर्राष्ट्रिय दिवस : अन्तर्राष्ट्रिय दिवस सर्वसाधारणलाई आमचासोको मुद्दामा शिक्षित गराउन र विश्वव्यापी समस्या सम्बोधन गर्न राजनीतिक इच्छाशक्ति जगाउन मनाउने गरिन्छ । साथै स्रोत परिचालन गर्न, मानव जगत्ले हासिल गरेको उपलब्धिलाई थप सबल बनाउन र यी अवसरमा रमाउन पनि यस्ता दिवस मनाइन्छन् । अन्तर्राष्ट्रिय दिवस संयुक्त राष्ट्रसंघको स्थापनाअघि पनि मनाइन्थे । तर, संयुक्त राष्ट्रसंघले सम्बन्धित विषयमा शक्तिशाली वकालत गर्न यस्ता दिवसलाई औजारको रूपमा अंगिकार गरेको छ ।

नेपालमा तय गरिएका केही कार्यक्रम

……….
२६औँ विश्व आदिवासी दिवसको शुभकामना आदानप्रदान भर्चुअल मूल समारोह
समय: दिउँसो २:३० बजेदेखि
आयोजक: नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद् सचिवालय ।
………..
२६औँ विश्व आदिवासी दिवसको अवसरमा भर्चुअल कार्यक्रम
समय: साँझ ८:३० बजेदेखि
आयोजक: नेपाल आदिवासी जनजाति महासंघ, इजरायल ।
……
२६औँ विश्व आदिवासी दिवसको सन्दर्भमा भर्चुअल समारोह
समय: बिहान ८:४५ बजेदेखि
आयोजक: नेपाल आदिवासी जनजाति महासंघ, जापान ।
….
२६औँ विश्व आदिवासी दिवसको अवसरमा भर्चुअल समारोह
समय: दिउँसो ४:४५ बजेदेखि
आयोजक: नेपाल आदिवासी जनजाति महासंघ, युके ।
….
२६औँ विश्व आदिवासी दिवसको अवसरमा भर्चुअल समारोह
समय: विहान ७:४५ बजेदेखि
आयोजक: नेपाल आदिवासी जनजाति महासंघ, अष्ट्रेलिया ।
…..
२६औँ विश्व आदिवासी दिवसको भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम
समय: साँझ ७:४५ बजेदेखि
आयोजक: नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका ।
……
२६औँ विश्व आदिवासी दिवसको अवसरमा ‘आदिवासी जनजातिहरूको अधिकारबारे अन्तरक्रिया कार्यक्रम
समय: विहान ८:०० बजेदेखि
स्थान: यलाखिम रेष्टुरेन्ट, महालक्ष्मीस्थान, ललितपुर
आयोजक: नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।

२६औँ विश्व आदिवासी दिवसको अवसरमा बृहत अन्तरक्रिया कार्यक्रम
समय: विहान ११:०० बजेदेखि
स्थान: छन्त्याल समाज घर, नदीपुर
आयोजक: नेपाल आदिवासी जनजाति महासंघ, तमुवान–मगरात (प्रदेश नं. ४) प्रदेश समन्वय परिषद् ।
…….
२६औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम
समय: दिउँसो १२:०० बजेदेखि
स्थान: धनगढी, कैलाली
आयोजक: नेपाल आदिवासी जनजाति महासंघ, (प्रदेश नं. ७), प्रदेश समन्वय परिषद् ।
……
२६औँ विश्व आदिवासी दिवसको अवसरमा ‘माझी महिलाहरूको भूमि अधिकारका लागि सञ्चार अभियान’ विषयक अन्तरक्रिया कार्यक्रम
स्थान: कुनौरी, मन्थली नगरपालिका, रामेछाप
आयोजक: राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च ।
……
आदिवासी जनजाति समुदायमा कोरोना प्रभाव, चुनौती र युवाको भूमिका विषयक भर्चुअल अन्तरक्रिया
समय: साँझ ५:३० बजेदेखि
आयोजक: नेपाल आदिवासी जनजाति युवा महासंघ ।
………
फास्टट्रयाकलगायतका परियोजनाहरुबाट ऐतिहासिक नगरी सम्पदा खोकना÷बुङ्मती बचाऔँ भन्ने नारासहित २६औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित ‘सांस्कृतिक सङ्घर्ष–२०७७’ कार्यक्रम
समय: विहान ९:०० बजेदेखि सिकाली घ्यो पूजा । दिउँसो १:०० बजेदेखि सांस्कृतिक प्रस्तुती
स्थान: च्वयलाछी (रुदायणी मन्दिर) प्राङ्गन, खोकना, ललितपुर महानगरपाकिा–२१, ललितपुर
आयोजक: जनसरोकार समिति, खोकना ।

प्रतिक्रिया दिनुहोस्