कांग्रेस सभापतिले एकलौटी रुपमा फेरि गरे विभागहरुमा मनोनयन



काठमाडौं साउन २६ । कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टीका विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनीत गराएका छन् ।

देउवाले पार्टीको विधानबमोजिम १० वटा केन्द्रीय विभागलाई आइतबार राति उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम मनोनीत गरेका हुन् ।

देउवाले हालसम्म पूर्णता दिएका केन्द्रीय विभागमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने सहभागिता जनाएका छैनन् । सो समूहले काँग्रेसको १३ औँ महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभाग अहिले चौधौँ महाधिवेशनको कार्यतालिका अघि बढिसकेपछि निर्वाचन आचारसंहिता विपरीत गठन गरिएको जनाउँदै विरोध गर्दै आएका छन् ।
कांग्रेसको १३ औँ महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म भएको थियो ।

  • नेता गोपालमान श्रेष्ठ प्रमुख रहेको सङ्गठन विभागको सचिवमा विनकुमार विश्वकर्मा
  • हरिप्रसाद नेपाल प्रमुख रहेको शिक्षा विभागको उपप्रमुखमा शेषनाथ अधिकारी र सचिवमा डा कृष्णप्रसाद पौडल
  • फरमूल्लाह मंसुर प्रमुख रहेको मुस्लिम विभागको सचिवमा परवेज अन्सारी
  • अजयकुमार चौरसिया प्रमुख रहेको तराई–मधेश समन्वय विभागको उपप्रमुखमा श्रीप्रसाद राउत र सचिवमा रामनारायणप्रसाद कुर्मी
  • नन्दप्रसाद ढुङ्गाना प्रमुख रहेको वित्तीय तथा सहकारी संस्था समन्वय विभागको उपप्रमुखमा गोविन्दबहादुर मल्ल
  • शङ्कर भण्डारी प्रमुख रहेको तरुण विभागको सचिवमा श्यामप्रसाद श्रेष्ठ
  • मोहनबहादुर बस्नेत प्रमुख रहेको खेलकूद विभागको उपप्रमुखमा मोहनकुमार राई

प्रत्येक विभागमा बढीमा ५१ सदस्य रहने र केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यको नियुक्ति गर्ने कांग्रेस विधानमा व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्