श्रमका लागि विदेश जानुपर्ने बाध्यता छिट्टै अन्त्य हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौं साउन २८ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही वर्षभित्र कुनै पनि नेपाली कामका लागि विदेश जान बाध्य नहुने बताएका छन्।

उनले सरकारले विदेशमा रोजगारीका लागि जाने अवस्था अन्त्य गर्ने गरी काम गरिरहेको बताएका हुन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले विभिन्न खाले काम अघि बढाइरहेको भन्दै बाध्यताका लागि विदेशिनुपर्ने अवस्था अन्त्यका लागि आवश्यक काम भइरहेको बताए।

युवाले पनि स्वदेशमै मेहनत गर्ने वातावरण बनाउनुपर्ने भन्दै सरकार युवाहरुको साथमा रहेको बताए। संघीय तह, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम सञ्चालन गरेर बजेट विनियोजन गरिएको प्रधानमन्त्रीको भनाइ छ।

उनले युवाको नै विकासका सहयात्री रहेकाले जसको जुन क्षेत्रमा रुचि छ त्यसलाई पहिचान गरेर अगाडि बढ्न सके सफलता हासिल गर्न सकिने बताए। प्रधानमन्त्रीले देशैभर युवा लक्षित गरेर विभिन्न कार्यक्रममार्फत ७६ अर्ब रुपैयाँ छुट्ट्याइएको जानकारी दिए।

उनले युवालाई खेलकुदमा लाग्ने प्रेरणा मिलोस् भनेर पनि युवा तथा खेलकुद मन्त्रालयमार्फत पनि विभिन्न कार्यक्रमहरु अघि बढाइएको बताए।

प्रतिक्रिया दिनुहोस्