कालापानी–लिम्पियाधुरा विवादपछि नेपाल भारतबीच पहिलो पटक वार्ताको तयारी



काठमाडौं साउन २८।

कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई लिएर सीमा विवादले तनावको सिर्जना भएपछि पहिलोपटक नेपाल र भारतबीच आगामी हप्ता आधिकारिक तहमा छलफल हुने भएको छ ।

नेपालमा भारत सरकारको सहयोग वा सहकार्यमा सञ्चालन भएका परियोजनाहरुको मूल्यांकन गर्नका लागि आउँदो हप्ता दुई देशका अधिकारीबीच छलफलको तयारी भएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

काठमाडौँमा हुने छलफलमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गर्नेछन् भने भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत वियन मोहन क्वात्राले गर्नेछन् । कोरोना भाइरसको महामारीका कारण सो बैठक भिडियो कन्फ्रेन्समार्फत हुने सम्भावना रहेको छ ।

औपचारिक रुपमा बैठकको मिति घोषणा नभए पनि अगस्त १८ अर्थात भदौ २ गते गर्ने तयारी रहेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

भारतको सहयोगमा नेपालको तराई क्षेत्रमा सडक तथा रेल मार्ग निर्माण भइरहेको छ भने भूकम्पपछिको पुनर्निर्माण, प्रहरी प्रशिक्षण एकेडेमी, पोलिटेक्निक कलेज तथा पाइपलाइन निर्माणको काम पनि भइरहेको छ ।

परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा गठन गरिएको संयुक्त समितिको बैठक पछिल्लो पटक सन् २०१९ को जुलाईमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्