डब्लुएचओ प्रमुख भन्छन्- महामारी नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका



काठमाडौं साउन २९ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले प्रायजसो युवापुस्ता कोरोना भाइरस महामारीमा गम्भीर जोखिम समूह नभएको तर उनीहरूले महामारी फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएका छन् ।

उनले बुधबार जेनभामा पत्रकारहरूसँगको कुराकानीमा विश्वप्रतिको साझा दायित्वलाई विश्वभरका युवाहरूले वहन गरेको जिम्मेवारीप्रति खुशी व्यक्त गरे । कोरोना भाइरस महामारीबाट युवा पुस्ताको भविष्यमा परेको प्रभावप्रति दुःख पनि उनले व्यक्त गरे । उनले युवासँग महामारीबारे जानकारी लिन र स्वास्थ्यका लागि हितकर हुने छनौट गर्न आह्वान पनि गरे ।

उनले विभिन्न संगठन, संस्थान तथा सरकारसँग युवाको प्रस्ताव सुन्न, महामारीको रोकथाम तथा नियन्त्रण क्षेत्रमा युवालाई सम्लग्न हुन प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आह्वान गरे ।

अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिन्छ । कोरोना भाइरस महामारीको पृष्ठभूमिमा चालु वर्षको विषयसूची ‘विश्व कारवाहीमा युवाको संलग्नता’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्