फेरि बढ्यो दक्षिण कोरियामा कोरोना संक्रमण



सोल साउन ३१ । दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमण दर फेरि बढ्ने क्रम देखिएको यहाँका अधिकारीहरूले बताएका छन् ।

गत २४ घन्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १६६ पुगेको र यो पाँच महिना यता दक्षिण कोरियामा एकै दिन सङ्क्रमित व्यक्तिको सङ्ख्या सबैभन्दा धेरै हो । पाँच करोड १० लाख जनसङ्ख्या रहेको राजधानी सहर सियोलमा पछिल्ला दिनहरूमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि सरकारले संक्रमण नियन्त्रणका उपायहरूलाई थप कडा पारिरहेको छ ।

दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले शनिबार सार्वजनिक गरेको तथ्याङ्कमा देशभर अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १५ हजार ३९ रहेको र ३०५ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । केसीडीसीले नयाँ सङ्क्रमितमध्ये १५५ जना स्थानीय रहेको र अन्य कोरियामा विभिन्न कामको सिलसिलामा पुगेका विदेशी रहेको बताएको छ । सङ्क्रमितमध्ये अधिकांश राजधानी शहर र वरपरका क्षेत्रका नागरिक हुन् ।

अधिकारीहरूले पुनः संक्रमण देखिन थालेपछि तत्काल हजारौं चर्चहरूलाई बन्द गर्न निर्देशन गरेका छन् । कोरियामा संक्रमण फैलिनसक्ने एउटा प्रमुख क्षेत्रका रूपमा चर्चलाई लिएका छन् । यस पहिले पनि कोरियाको एक चर्चमा गएका केही व्यक्तिबाट संक्रमण फैलिएको थियो । त्यसैगरी नर्सिङ होम, विद्यालय, रेस्टुरेण्ट र धेरै उपभोक्ताको भेला हुने बजारहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्