कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालना गर्न गृह मन्त्री थापाको आग्रह



काठमाडौं साउन ३२ ।

गृह मन्त्री रामबहादुर थापाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालना गर्न सर्वसाधारणलाई अपिल गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन सबै नियमहरु पालना गर्न अपिल गरेका हुन् । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको बताए ।

गृह मन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भइ नियमहरु पालना गरेमा सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भए पनि फेरि सङ्क्रमण बढिरहेको छ । सरकारले केही कडाइ गरी नियन्त्रणको प्रयास गरिरहेको गृह मन्त्री थापाले बताए । फेरि लकडाउन गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पारे ।

लकडाउनका कारण आर्थिक समस्या देखिन थालेपछि सरकारले कोरोना र आर्थिक सङ्कटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताएका छन्। सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोके पनि अझै पनि लुकीछिपी आउने काम भइराखेको उनले बताए ।

साथै बाढी पहिरोका कारण क्षति पुगेको ठाउँमा रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र पालिकामा तयारी गरिएको पनि उनले बताए । हरेक वर्ष पूर्वतयारी गरिए पनि उद्धारका लागि साधन र सामग्रीहरुको समस्या रहेको उनको भनाइ छ ।

गृह मन्त्री थापाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र गृह मन्त्रालय अन्तर्गत रहेको रकमबाट उद्धार र पुनर्स्थापनाका लागि निकासी गरी काम भइराखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्