नेपाल र भारतबीच सोमवार कूटनीतिक तहमा वार्ता हुने



काठमाडौं साउन ३२ ।

नेपाल र भारतबीच सोमवार कूटनीतिक तहमा वार्ता हुने भएको छ ।

नेपाल र भारतबीच नक्सा मतभेद जारी रहेकै बेला दुई देशबीच लामो समयपछि कूटनीतिक तहमा वार्ता हुन लागेको परराष्ट्र प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिब शंकरदास वैरागीले र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व काठमाडौंस्थित भारतीय राजदूत विनय मोहन क्वात्राले गर्नेछन्।

नेपालले गत वैशाखमा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको थियो । त्यसअघि भारतले २०१९ मा एकपक्षीय रुपमा नेपाली भूमिसमेटेर नक्सा जारी गरेको थियो । नेपालले पनि त्यसको विरोध जनाउँदै वार्ताको पहल गरेको थियो ।

तर, भारतले वार्तामा कुनै चासो नदेखाई नेपाली भूमि हुँदै सडक बनाएपछि नेपालले नयाँ नक्सा जारी गरेको थियो । नेपालले नक्सा जारी गरेपछि नेपाल र भारतबीच सम्बन्ध चिसिएको हो ।
भोली हुने वार्ताले नेपालमा भारतीय लगानीका आयोजनाबारे मात्र हुने भए पनि नक्सा मतभेदपछि चिसिएको दुई देशबीचको सम्बन्धलाई सुधार र विश्वासको वातावरण बनाउन सहयोग पुग्ने विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्