तामाङ घेदुङ इजरायलबाट जुगल पहिरो पीडितलाई सहयोग हस्तान्तरण



काठमाडौं भदौ १ । नेपाल तामाङ घेदुङ इजरायलले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ लिदि गाउँका पहिरो पीडितलाई नगद सहयोग उपलब्ध गराएको छ ।

इजरायल घेदुङले संस्थागत र ब्यक्तिगत समेत गरी संकलन गरेको जम्मा रकम १ लाख २५ हजार ९ सय २० रुपैयाँ आइतबार सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोलाई हस्तान्तरण गरिएको घेदुङका महासचिव महितकुमार तामाङले बताए ।

कोरोना महामारी र वर्षातले बाटो भत्किएको कारण त्यहाँ पुग्न गाह्रो भएको हुँदा राहत सामाग्री लिएर हेलिकोप्टरमार्फत जिल्ला अध्यक्ष स्याङ्बो लिदितर्फ जाने क्रममा उनलाई रकम हस्तान्तरण गरी पठाएको महासचिव तामाङले बताए । हस्तान्तरण कार्यक्रममा घेदुङको उपाध्यक्ष कुमार घिसिङ र कोषाध्यक्ष रुपबहादुर योन्जनको समेत उपस्थिति रहेको थियो ।

राहत रकम बुझ्दै जिल्ला अध्यक्ष रेशम स्याङ्बोले पीडित परिवारलाई तत्काल ओढ्ने, ओछ्याउने, लगाउने कपडा र घेवा खर्चको अभाव रहेको हुँदा सो को लागि दामासाहीले नगद नै हस्तान्तरण गर्ने बताए । उनले जिल्ला घेदुङको तर्फबाट गुम्बामा मृतकको सामूहिक घेवा गरिने समेत प्रतिवद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्