प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न– सिन्धुपाल्चोक पहिरोको जिम्मेवारी सरकारले लिनु पर्दैन ?



प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता सकिएको छ।

काठमाडौं भदौ १ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सभापति देउवाले जरुरी महत्वका तीन विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

सभापति देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको र कयौं बेपत्ता भएका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। ‘गाउँबासीले १० दिन अघिदेखि नै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्याउनु अत्यन्तै दुखद् भएको छ। यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैनरु’ देउवाले प्रधानमन्त्रीलाई भनेका थिए।

पार्टी सभापति देउवा र प्रधानमन्त्रीबीच भएको भेटवार्ताका विषयमा नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत् जानकारी गराएका छन्। भेटमा देउवाले देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको र सरकारको भूमिका सन्तोषजनक नदेखिएको बताएका थिए। उनले प्रधानमन्त्रीलाई व्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गरेका छन्।

‘कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीव्र गतिमा विस्तार भएको छ। बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन,’ देउवाले भने। ‘कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन रु आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाइ रु देउवाको भनाइ उद्धृत गर्दै कांग्रेसले विज्ञप्तिमा भनेको छ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी रहेकोसमेत कांग्रेसले भनेको छ। ‘निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखियो,’ देउवाले भने,‘ प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुर देखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन।’ देउवाले अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न पनि ध्यानाकर्षण गराएका छन्।

यी सबै बिषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न पनि प्रधानमन्त्री समक्ष आग्रह र नेपाली कांग्रेसको तर्फबाट माग गरेको कांग्रेसले जनाएको छ। प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवासहित केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए। भेटमा ओलीले भने संवैधानिक नियुक्तिहरु बारे देउवासँग परामर्श गरेका थिए।

प्रतिक्रिया दिनुहोस्