बेलायतको एनएचएसलाई तमु प्हे ल्हु संघ यूकेको ७ हजार ३७८ पाउन्ड सहयोग



लन्डन भदौ ५ । तमु प्हे ल्हु संघ यूकेले कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका खेलेकोमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)लाई ७ हजार ३७८ पाउन्ड ५० पेन्स सहयोग गरेको छ ।

संघका अध्यक्ष मेजर रिटायर्ड खुशीमान गुरुङले बिहीबार उक्त सहयोग रकमको चेक एनएचएस इङल्यान्डको मुख्यालयमा एनएचएस इङल्याण्डकी निर्देशक जस्टिन डेभीलाई हस्तान्तरण गरेका हुन् । संघका अध्यक्ष गुरुङले महामारीको यस्तो विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिएकोमा एचएनएसलाई धन्यवाद दिन र तपाईहरुको साथमा हामी नेपालीहरु पनि छौँ भन्ने सन्देश दिन सो सहयोग गरिएको बताए । संघले आफ्ना सदस्यहरुबाट दुई महिनामा स्वयंसेवीरुपमा संकलित सहयोगबाट सो सहयोग गरेको हो ।

संघले विगतदेखि नै नेपालमा विभिन्न किसिमका राहत सहयोग गरिररहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले बेलायत कर्मथलो भएकाले यहाँ पनि केही गर्नुपर्छ भनेर सहयोग संकलन गरिएको बताए । उनले संघका सदस्यहरु यूकेका सबै क्षेत्रमा बसोबासरत रहेकाले कुनै एक क्षेत्रको एनएचएसलाई मात्र सहयोग गर्नुभन्दा मुख्यालयमै सहयोग हस्तान्तरण गर्नसके राम्रो हुने ठानेर मुख्यालयमै गई सहयोग हस्तान्तरण गरेको जानकारी दिए । सो क्रममा यूकेमा रहेका नेपाली, गोरखा सैनिक परिवारका बारेमा पनि बताउने मौका मिलेको उनले बताए । सो अवसरमा श्रीमती मन्जु गुरुङ र संघका सल्लाहकार भेगलाल गुरुङको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्