नेपालमा अवको केही हप्तामै कोरोना संक्रमितको संख्या निकै बढ्ने डब्लूएचओको चेतावनी



काठमाडौं भदौ ९ ।

नेपालमा अबको केही हप्ता तथा केही महिना कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढ्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले चेतावनी दिएको छ ।

डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले अहिले कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको तर यो सुरुवात मात्रै रहेको भन्दै अबको केही हप्ता तथा महिनापछि अवस्था निकै खराब हुने चेतावनी दिए ।

यसअघि नेपालमा विदेशबाट फर्किएकामा मात्रै सङ्क्रमण देखिएकोमा अहिले समुदायस्तरमा पनि सङ्क्रमण देखिन थाल्नु समुदायमा सङ्क्रमण व्यापक हुने सुरुवाती लक्षण भएको उनको भनाइ छ ।

अहिले ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्न थालेको र यसको कारण पाको उमेरका व्यक्तिलाई पनि कोरोना सङ्क्रमण हुन थालेको भन्दै उनले पाको उमेर तथा जोखिम वर्गका मानिसमा कोरोना सङ्क्रमण रोक्न नसके अझै धेरैको ज्यान जाने स्पष्ट पारे।

तर कोरोना भाइरसका सङ्क्रमित धेरै देखिए पनि आत्तिनु परिहाल्ने अवस्था भने नरहेको डब्लूएचओका नेपाल प्रतिनिधि डा. भ्यान्डलियरले बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग कुरा गर्दै उनले कुल जनसङ्ख्याको एकदेखि दुई प्रतिशतमा मात्र कोरोना सङ्क्रमण भएको र सङ्क्रमण भएकामध्ये पनि धेरैमा सामान्य लक्षणमात्र देखिने भएकोले यो घातक नहुने जानकारी दिनए । उनले टोल छिमेकमा सङ्क्रमण देख्दैमा आत्तिनु नपर्नेमा पनि जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्