गौतमको मनोनयन, विकृत लोकतन्त्रको घातक विडम्बना : साझा पार्टी



काठमाडौं असोज २ । प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टी गम्भीर आपत्ति व्यक्त गरेको छ ।

राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भएको साझाले शुक्रबार विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

‘यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास हो। लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार हो । यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुन: एक पटक “तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन” भन्ने हठी सन्देश दिएको छ’ विज्ञप्तिमा छ ।

संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय भएको बताउँदै साझाले संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको अवस्थामा चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान साझा पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

‘नागरिकप्रतिको चरम बेवास्ताका कारण जनआक्रोश अत्यन्त चुलिएको समयमा नागरिकलाई झनै चिढ्याईए त्यसले मुलुकलाई अकल्पनीय राजनीतिक दुर्घटनाको बाटोमा लैजान सक्नेतर्फ हामी सरकारलाई समयमै सचेत गराउछौँ’, साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्