गुल्मीमा कांग्रेस र प्रहरीबीच झडप, जिल्ला सभापति दुर्व्यहारप्रति कांग्रेसको आपत्ति



गुल्मी असोज ५ । गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा सोमबार झडप भएको छ । पार्टी कार्यालय, बिपी स्मृति भवन क्याम्पसरोडबाट निकालिएको र्‍याली भीमचोक, पुतलीबजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडितर्फबाट प्रशासन कार्यालयभित्र जान खोज्दा प्रहरीसँग झडप भएको हो ।


झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, काङ्ग्रेस क्षेत्र नम्बर २ ‘क’ का सभापति पूर्ण केसी, नेता श्रीप्रसाद भलामीलगायत घाइते भएका छन् । झडपमा दुई प्रहरीसहित छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर १२ मा रहेको रानीपोखरी निम्नमाध्यमिक विद्यालय भत्किएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत काम हुने गरी चारकाठे भवनको काम गर्नका लागि रु ७० लाख ४० हजार बजेट विनियोजन भएको र बजेटको कार्यान्वयनका लागि विद्यालयमा सर्वदलीय तथा सर्वपक्षीय भेलाको आयोजना भएकामा साउन ९ गतेको भेलाले पुरानो भवन भत्काउने र साउन २५ गतेको भेलाले विद्यालय व्यवस्थापन समितिको रेखदेखमा नयाँ भवनको निर्माण शुरु गर्ने निर्णय भएको थियो । व्यवस्थापन समितिमार्फत हुने कुनै पनि काममा ठेक्का दिन नपाइने नियम भए पनि निर्माण समितिले विनोद विकलाई रु १६ लाख ५० हजारमा अघोषित रुपमा भदौ १५ गते निर्माणको जिम्मा दिएपछि सो झडप भएको बताइएको छ । स्थानीयवासी गिरिप्रसाद महाकिमले वडाध्यक्षलगायतको समूहले ठेकेदारमार्फत काम गराएर विद्यालयको रकम हिनामिना गर्न खोजेको आरोप लगाएका थिए ।

यसैबीच कांग्रेसले गुल्मीमा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर पार्टी जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने क्रममा प्रहरीले अवरोध गरेको भन्दै आपत्ति जनाएको छ ।

कोरोना भाइरस सङक्रमणको प्रतिकुलता दृष्टिगत गरेर भौतिक दूरी कायम गर्दै निकालिएको र्‍याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीका जिल्ला नेतृत्व र नेता कार्यकर्तालाई प्रशासन कार्यालयमा प्रवेश गर्नुपूर्व रोकिएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरिएको र पार्टीका जिल्ला सभापति भन्ने जानकारी हुँदाहुँदै पनि जिल्ला पार्टी सभापति भुवन श्रेष्ठमाथि पनि प्रहरीले ध्रक्कामुक्का गर्दै दुर्व्यवहार गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्