राजु लामा फाउन्डेशन न्यूयोर्कले सिन्धुपाल्चोकका प्रकोपपीडितलाई खाद्यान्न सहयोग



अमेरिका असोज ८ । राजु लामा फाउन्डेशन न्यूयोर्कले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापित २ सय घर परिवारलाई खाद्यान्न लगायत सामग्री सहयोग गरेको छ ।

मंगोलियन हर्टका रुपमा परिचित गायक राजु लामाद्वारा स्थापित फाउन्डेनले १९ सेप्टेम्बरका दिन विस्थापित परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो । प्रतिपरिवार २५ किलो चामल, २ लिटर तेल, दाल २ किलो, २ पोका नुन, मस्यौरा १ किलो, साबुन ४ पिस, मन्जन ब्रससमेत दिइएको फाउन्डेशनले जनाएको छ । फाउन्डेशनमार्फत बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका परिवारका सदस्य गुमाएका र घरबारविहीनहरुले राहत पाएका छन् ।

सिन्धुपाल्चोकका बाढी पीडितलाई सहयोग दिने उद्देश्यले २०२० अगस्टमा ‘सापटी टक शो’ मार्फत सहयोग संकलन गरिएको गायक लामाले बताएका छन् । उक्त कार्यक्रममा हेल्थ फाउन्डेशन नेपालको सहयोग गरेको थियो । कार्यक्रममार्फत् ५ हजार डलर संकलन गर्ने लक्ष्य राखिएकोमा सफल भएको उनले उल्लेख गरेका छन् ।

गायक लामाले बिना हातेमालो राहत दिन सम्भव नहुने भन्दै साथीहरु र सहयोगीहरुलाई धन्यवाद दिएका छन् । सिन्धुपाल्चोकमा बाढी पहिरोबाट सयौं घर परिवार विस्थापित भएका छन् भने दर्जनौंको मृत्यु र बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्