निजी क्षेत्रको यतीले थाल्यो सिमरा उडान, भाडादर २ हजार



काठमाडौै असोज २१। निजी क्षेत्रको यती एयरलाइन्सले बुधबारदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ ।

कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो । यो यतीको नवौँ र प्रदेश नं २ मा दोस्रो गन्तव्य हो । एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर बुधबारदेखि सिमरा उडान शुरु गरिएको जानकारी दिए ।

उनका अनुसार आज नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९:१० बजे पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४:४५ बजे हुनेछ । आज पहिलो दिन काठमाडौँ–सिमरा–काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोलाप्रथामार्फत एक जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइनेसमेत उनले जानकारी दिए । यतीले हालका लागि प्रमोशनल भाडा काठमाडौँ–सिमरा–काठमाडौँको एकतर्फी रु एक हजार ९९९ तोकेको छ । यी गन्तव्यको टिकट एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ ।

केही दिनअघि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै विभिन्न गन्तव्यका लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सी र मोबाइल एप्समार्फत टिकट खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजनासमेत अघि सारेको छ । विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा र तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्