कर्णालीमा अविश्‍वासको प्रस्तावपछि मन्त्रिपरिषद् पुनर्गठन हुँदै, मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति



सुर्खेत असोज २७ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका नेताबाट हटाउन यमलाल कँडेलसहितका १८ सांसदले सं‌सदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि विकसित घटनाक्रम स्वरुप मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग सहमति भएसँगै माधवकुमार नेपाल समूहले तीन मन्त्री र संसदीय दलको सचेतक पदका लागि सांसदको नाम बुझाएपछि मन्त्रीमण्डल फेरिन लागेको हो ।

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव रोक्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह सहमत भए । सोही अनुसार सुर्खेतमा मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही नेपाल समूहलाई तीन मन्त्री र स‌ंसदीय दलको सचेतक पद दिन तयार भएका छन् । एक नेताका अनुसार नेपाल समूहका नेता समावेश गरी मन्त्रिपरिषद् पनि मंगलबार नै पुनर्गठन गर्ने सहमति भएको छ ।

मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम बुझाएको छ । संसदीय दलको सचेतकमा कर्मराज शाहीको नाम पठाइएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्