डा. लोहनीले भने, ‘डा. बाबुरामले नेपालका ‘ठूला’ नेताहरुलाई भ्रष्टाचारको आरोप लगाउनु गम्भीर कुरो हो’



काठमाडौं असोज २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपालका ‘ठूला’नेताहरुलाई भ्रष्टाचारको आरोप लगाउनु गम्भीर कुरो भएको बताएका छन् ।

डा. भट्टराईले शीर्ष नेताहरुलाई भ्रष्टाचारीको आरोप लगाएको भन्दै लोहनीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री डा.भट्टराईविरुद्ध मानहानीको मुद्दा हाल्ने आँट देखाउनुपर्ने बताएका छन् । लोहनीले फेसबुकमा लेखेका छन्, ‘डा. बाबुरामले नेपालका ‘ठूला’ नेताहरुलाई भ्रस्टाचारको आरोप लगाए छन् । यो गम्भीर कुरो हो । अब यसको उपचारको लागि मानहानीको मुद्दा अदालतमा हाल्ने आट देखाउनु जरुरी छ ।’

आरोप लगाउनेले आफ्नो प्रमाण नदेखाउने र आरोपितहरुले अदालत जाने आँट नगर्ने हो भने यी सबै मिलीभगत हुने लोहनीको धारणा छ । उनको स्टाटस्‌मा लेखिएको छ, ‘आरोप लगाउने आफ्नो प्रमाण नदेखाउने आरोपितहरुले अदालत जाने आँट नगर्ने हो भने यो सबै मिलिभगत जमातको जनतालाई मूर्ख बनाउने नाटकभन्दा केही नहुने देखिन्छ ।’

डा. भट्टराईले बुढीगण्डकी आयोजनामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

गृहजिल्ला गोरखामा आयोजित एक कार्यक्रममा भट्टराईले ओली, प्रचण्ड र देउवाले बुढीगण्डकीमा ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै त्यसको प्रमाण दिनसमेत आफू तयार रहेको बताएका थिए । भट्टराईको सो अभिव्यक्तिको नेकपा र नेपाली कांग्रेसले विज्ञप्ति निकालेर खण्डन गरेका छन् ।

डा भट्टराई फेरि बुधबार ट्विट गर्दै सबै ठूला भ्रष्टाचार प्रकरणको छानबिनका लागि आयोग गठन गर्न माग गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारुढ नेकपाले आरोपको खण्डन गर्दै प्रमाण भएमा सार्वजनिक गर्न चुनौती दिएपछि भट्टराईको प्रतिक्रिया आएको हो ।

बुधबार सत्तारुढ नेकपाले जारी गरेको विज्ञप्तिमा प्रतिक्रिया दिँदै भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षण प्रिन्टिग प्रेस, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं । सबै उच्च पदासीनहरूको सम्पत्ति छानबीन गरौं । म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु ।’

प्रतिक्रिया दिनुहोस्