तेइस दिनपछि फेरि बुधबारदेखि चीन-नेपाल तातोपानी नाका खुल्ने



काठमाडौं कात्तिक १२ । तेइस दिनपछि फेरि चीन-नेपाल तातोपानी नाका बुधबारदेखि पुनः खुल्ने भएको छ । असोज १९ गते खुलेको उक्त नाका सामान लोड-अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो ।
त्यसयता चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको थियो ।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन रुम्दाली राईका अनुसार तिब्बतको वाणिज्य विभागले सोमबार नाका खुल्ने तयारीबारे जानकारी दिएको हो । वाणिज्य विभागका अधिकारीले सीमा नजिकै बुधबार बैठक बस्ने, संभवतः कोरोना प्रतिरोधका लागि नेपालतर्फ निर्मित संरचना निरीक्षण गर्ने, तातोपानी पुलदेखि नेपालतर्फको गेटसम्म बारेर सामान नेपाली भूभागमा छोड्ने गरी नाका खोल्ने प्रक्रिया अघि बढ्नसक्ने बताएको रुम्दालीले बताए ।

अब नेपाल र चीनबीच तातोपानी पुलदेखि नेपाली भन्सारसम्मको गेटसम्म सिल गरेर स्वास्थ्य प्रोटोकल अपनाइने भएपछि नाका खुल्ने तयारी भएको चिनियाँ अधिकारीले बताए ।

बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालका अनुसार केरुङबाट नाकाबाट दैनिक ५ वटा चिनियाँ ट्रकबाट सामानहरू नाकामा पुग्ने गरेकोमा अब तातोपानी नाकाबाट पनि दैनिक ५ वटा ट्रकमा ३० टनका दरले सामानहरू चिनियाँ ट्रकले नेपाली भूभागमा छोडिदिनेछन् ।

प्रतिक्रिया दिनुहोस्