कविता : पागल



पागल हुन् ती,
जो
आफूलाई जे मन लाग्यो त्यही गर्छ ।
जो
आफूलाई मन लागे,
अरुलाई चोट पुर्‍याई हाँस्छ ।
जो
आफूलाई मन नपरे
बहानाको सिरक ओडी,
जाडो भयो भन्दै
तरबारहरु एक आपसमा जुधाएर
आगोको झिल्का निकाल्छ ।
र ती झिल्काले
फूलहरु समेत सजिलै जल्छन् ।
जो
काँडाहरुलाई पूजा गरी
मन्दिरको मूर्ति बनाउँछ ।
जो
जे मन लाग्यो जसलाई पनि
मकै भुट्दा पड्के झैं,
तिखा छुराहरु मुखबाट
पटटट पड्काइरहन्छ ।
उसलाई मतलब हुन्न,
आफ्नो दायित्व भए पनि
पीडाहरु रोओस् वा हाँसोस्
तरबारी जेसुकै होस्
जो
सर्प पनि बिष पखाल्ने बहानामा
दूध पिउँछन् जताततै नरम भई माग्दै हिँड्छ ।
तर उही नै जंगलको
सिंह हुन्छ ।
उसलाई सबैले जंगलको
राजा घोषणा गर्छन् ।
उसलाई कसले छुन सक्छ र ।

उसकै पक्कड हुन्छ, जताततै,
रातलाई दिन भन्न लगाउँछ ।
सूर्यलाई हत्केलाले छेक्ने प्रयास गर्छ ।
हिउँहरु बटुलेर हिउँमा
आगो सल्काउन लगाउँछ ।
कालाहरु सेता हुन्छन् उसका लागि,
हो ऊ एउटा निर्भिग्न प्राणी हो ।
उसको नै इतिहास बन्छ यहाँ
उ नै देवता पुजिन्छ यहाँ
ती सबै पागल हुन् ।
यी पागलहरुले कुन बेला
के गर्न सक्छन् ।
केही थाहा छैन ।

समाप्त

प्रतिक्रिया दिनुहोस्