वाग्मती : प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति बन्यो



मकवानपुर कात्तिक २५ । वाग्मती प्रदेशमा प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन भएको छ । सोमबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आयोजित समारोहमार्फत मन्त्रालयका सचिव मतिना जोशी वैद्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।
समितिका सदस्यमा प्रदेशस्तरका चारवटै सुरक्षा निकायका प्रमुख, प्रदेशको स्वास्थ्य निर्देशनालय, पशुपक्षी तथा मत्य विकास निर्देशनालयका प्रमुखहरुलगायत रहेको जनाइएको छ । समितिको बैठकले बर्डफ्लु नियन्त्रण विधेयक, २०६४ (चौथो संशोधन) लाई आवश्यक संशोधनका लागि पशु सेवा विभाग र कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई पठाउने निर्णय गरेको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष वैद्यले बर्डफ्लुले मानव स्वास्थ्यमा धेरै असर गर्ने हुँदा यसलाई देखापर्ने बित्तिकै नियन्त्रण गरिनुपर्ने बताउनुभयो । बर्डफ्लुले कुनै पनि बेलामा समस्या पर्न सक्ने भएकाले यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा वाग्मती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाका निर्देशक डा रामप्रकाश प्रधानले हालसम्म नेपालमा बर्डफ्लुपीडित किसानहरुका लागि रु २३ करोडभन्दा बढी राहत वितरण गरिसकिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्