पञ्‍चकन्यामा विद्यालय सञ्‍चालनको तयारी, पालिकाको निर्णयअगावै सप्तकन्या आविले निकाल्यो सूचना



नुवाकोट मंसिर ५ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि दुई हप्ताअघि बन्द विद्यालय पुन: सञ्‍चालनको तयारी गरिएको छ ।

चालु शैक्षिक सत्रको सदुपयोग र विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै विद्यालय पुन: सञ्चालनको तयारी थालिएको हो । कात्तिक १८ गते पञ्‍चकन्या गाउँपालिकामा कार्यरत ४ कर्मचारीसहित ५ जनामा कोरोना पोजिटिभ देखिएपछि २० कात्तिकदेखि पालिकाभित्रका सबै सामुदायिक विद्लायहरु बन्द गर्ने निर्णय भएको थियो । कोरोना महामारीका कारण तीन/चार महिनादेखि बन्द विद्यालय स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने गरी असोज ६ देखि सञ्‍चालनमा आएको थियो ।

पछिल्लो समय पालिकाभित्र कोरोना संक्रमण कम देखिएकोले जनप्रतिनिधिहरु विद्यालय सञ्‍चालनका लागि सकारात्मक रहेको तर मोडालिटी टुंगिनसकेको शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत चक्रदेव जोशीले बताए । शिक्षा अधिकृत जोशीले साझापथसँग भने, ‘विद्यालय खोल्न जनप्रतिनिधिहरु सकारात्मक हुनुहुन्छ तर कुन मोडालिटीअनुसार चलाउने भन्ने निष्कर्ष निकाल्ने तयारीमा आज (शुक्रबार) बैठक बस्ने भनिएको थियो । अध्यक्षज्यू स्वास्थ्यको कार्यक्रमका लागि व्यस्त हुनुभएकोले एकीन भइसकेको छैन ।’ प्रमुख जोशीले बेलुकीसम्म बैठक बसेर विद्यालय सञ्‍चालनको मिति र विधि टुंगिन सक्ने बताए ।

पालिकाको निर्णयअगावै सप्तकन्या आविले निकाल्यो सूचना
तर पालिकाको अस्थायी कार्यालय नजिक घलेभन्ज्याङमा रहेको सप्तकन्या आधारभूत विद्यालयले भने मंसिर ७ गते आइतबारदेखि विद्यालय सञ्‍चालन हुने भन्दै सूचना निकालेको छ । विद्यालय सञ‍्‍चालनको निर्णय भइसकेको हो भन्ने प्रश्नमा शिक्षा अधिकृत जोशीले भने, ‘सप्तकन्याको सूचनाबारे हामीलाई थाहा छैन ।’

प्रधानाध्यापक रामकुमार कार्कीले शुक्रबार विद्लाय सञ्‍चालन सम्बन्धमा सूचना जारी गरेका छन् । सूचनामा भनिएको छ, ‘पञ्‍चकन्या गापाअन्तर्गत रहेको विद्यालयहरु मिति २०७७ साल मंसिर ७गते आइतबारबाट गापाको जानकारीअनुसार विद्यालय सुचारु भई पठनपाठन कार्य सञ‍्चालन हुने हुँदा सम्पूर्ण अभिभावकलाई तपाईंका छोराछोरीहरुलाई विद्यालय पठाउनु हुन अनुरोध गर्दछु ।’

विद्यालय सञ्‍चालनको सूचना प्रअ कार्कीले सामाजिक सञ्‍जालमा राखेका कारण कतिपय विद्यार्थी र अभिभावकले थाह पाइसकेका छन् । यद्यपि शिक्षा अधिकृत जोशीका अनुसार शिक्षा समितिको औपचारिक निर्णय आइनसकेको छैन । पालिकाको निर्णय अगावै केही विद्यालय सञ्‍चालनको सूचना आएपछि विद्यार्थी र अभिभावकमा अन्योलता सिर्जना गराइदिएको छ ।

पालिकामा सञ्‍चालत पञ्‍चकन्या माविमा भने कक्षा ११ को परीक्षा सञ्‍चालन भइरहेको छ । उक्त विद्यालयका अनुसार गाउँ शिक्षा समितिको निर्णयबाट मात्रै अन्य कक्षा सञ्‍चालन गर्ने तयारी छ ।

तस्बिर सौजन्य : विद्यालयको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्