कोरोना महामारीकाबीच सुरु भयो कक्षा १२ को परीक्षा



काठमाडौं मंसिर ९ । कोरोना भाइरस महामारीका बीच मंगलबारदेखि कक्षा १२ को परीक्षा प्रारम्भ भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले संक्षिप्त परीक्षा सञ्चालन गरेको हो । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षाका बेला स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न नसके संक्रमण झनै समुदायमा फैलिन सक्ने भनेर विज्ञहरूले सचेत गराएका छन् । बोर्डले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिएको बताए । बोर्डका अनुसार ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिँदैछन् ।

सैद्धान्तिकतर्फ प्रत्येक विषयको कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो । मंसिर १६ गते परीक्षा सकिनेछ । कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने छ ।

प्रतिक्रिया दिनुहोस्