पञ्‍चकन्यामा सुरु भयो बेकरी उद्योग, गाउँपालिका अध्यक्षद्वारा उद्घाटन [हेरौं तस्बिरहरु]



बेकरी उद्योगको रिवन काटेर उद्घाटन गर्दै पञ्‍चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ र सहभागी । तस्बिर : साझा पथ

घलेभन्ज्याङ (नुवाकोट) मंसिर २३ । नुवाकोट जिल्लाको पञ्‍चकन्या गाउँपालिका ३, घलेभञ्‍ज्याङमा बेकरी उद्योग सञ्‍चालनमा आएको छ ।

पञ्‍चकन्या गाउँपालिकाको योगदान, थाइल्याण्ड सरकार/यूएनडीपीको अनुदानमा सप्तकन्या सामुदायिक बेकरी उत्पादन परियोजना पञ्‍चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले मंगलबार बिहान उद्घाटन गरेका हुन् । कूल ७ लाख ५९ हजार लागतमा सुरु गरिएको उद्योगमा गाउँपालिकाको ४० प्रतिशत योगदान, अन्तर्राष्ट्रिय दातृ निकायको ४० प्रतिशत र समुदायको योगदान २० प्रतिशत रहेको छ ।

कोठा भाडामा लिएर सञ्‍चालन गरिएको परियोजनालाई निरन्तर सञ्‍चालन गर्नुका साथै विस्तार गर्दै लैजाने योजना रहेको सप्तकन्या आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ दोर्जे तामाङले बताए । उनका अनुसार बेकरीका परिकार उत्पादनका लागि आवश्यक कञ्‍चा पदार्थ काठमाडौं लगायत क्षेत्रबाट आयत गरिने छ । उद्योगको उत्पादन भने तत्काललाई गाउँपालिकाका विद्यालयहरु र विभिन्‍न क्षेत्रमा बजार व्यवस्थापन गर्ने लक्ष्य रहेको अध्यक्ष तामाङले बताए ।

सामुदायिक पूर्वाधर तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गतको समेत परियोजना भएकोले रोजगारी सिर्जनामा जोड दिइएको छ । उक्त उद्योगमा अहिले ३ जना स्थानीय युवाले रोजगारी पाएका छन् ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङ, प्रमुख प्रशासकीय अधिकृतहरु नरेश पुडासैनी, मंगलबहादुर विष्ट, वडा नम्बर ३ अध्यक्ष रामबाबु पराजुली, गाउँपालिकाका विभिन्‍न शाखा प्रमुख र कर्मचारी, स्थानीय बुद्धिजीवी, शिक्षक र सर्वसाधारण लगायतको उपस्थिति थियो । उद्योग उद्घाटनपछि बेकरीको उत्पादनका विभिन्न परिकारसहित चियापानको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्